झापा : कचनकवल गाउँपालिका वडा नम्बर ३ ले ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको साहाराको रुपमा कचनकवलमै नमुना कार्यक्रम छाता वितरण गरेको छ।
झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ का फिल्ड कर्मचारी सागर अधिकारीले वडाभित्रका ७० बर्ष माथिका ३६० जना ज्येष्ठ नागरिकलाई छाता वितरण गरिएको जानकारी दिए।
उनका अनुसार वडाभरी रहेका ज्येष्ठ नागरिकहरुलाई वर्षा लक्षित गरी पानी पर्दा ओत लाग्ने छाता वितरण गरिएको हो।
‘ज्येष्ठ नागरिकहरुलाई पानी पर्दा ओत लाग्ने छाताले हिड्डुल गर्न सहज होस् भनी वितरण गरिएको छ।’ वडा कर्मचारी अधिकारीले भने, ‘वडाको सानो सहयोगले उहाँहरु (ज्येष्ठ नागरिक)को मुहारमा देखिएको खुशीले वडालाई सन्तुष्ट बनाएको छ। अझै केही गर्ने ऊर्जा थपेको महसुस वडाले गरेको छ।’
कार्यक्रममा कचनकवल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष ग्याँस अजमल मियाँले आगामी दिनमा जेष्ठ नागरिकको सेवाका लागि घुम्ती शिविरमार्फत् स्वास्थ्य परिक्षण लगायतका कार्य गर्न समग्र पालिकाभरि गर्ने नीति तथा कार्यक्रम रहेकाले स्थानीय सरकार नागरिकका समस्या समाधान गर्ने साझा चौतारी बन्ने उद्देश्यले अघि बढिरहेको अवस्थामा वडाले छाता वितरण गर्न सकेकोप्रति खुशी व्यक्त गरे।
कार्यक्रमप्रति खुशी ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले आगामी बर्षमा गाउँपालिकाले ज्येष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने बताए। उनले छाता वितरण गरेर वडा अध्यक्ष अजमल सहितका वडा कार्यालयका टिमले समाजमा अनुकरणीय काम गरेको बताए। यो कार्यले ज्येष्ठ नागरिकलाई सेवा गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको उनले बताए।
जनप्रतिनिधिले सम्झेकोमा खुसी
कचनकवल-३ प्रगति चौकका उमेरले ८६ वर्ष लाग्नु भएको चुडामणि लामिछानेलाई नपुग्दो केही छैन्। इच्छाएको सबै परिवारले पूरा गरिदिएको छ।
उनै लामिछाने छाता पाउँदा खुशीले गदगद हुँदै ‘छाता पाएको भन्दा पनि वडाध्यक्षको पहलमा वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्झेकोमा खुशी लागेको छ,’ लामिछानेले भने, ‘यस्ता कार्यक्रमले गाउँको सरकारको प्रत्यक्ष अनुभूति महसुस हुँदो रहेछ।’
वडाध्यक्ष अजमलले जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै चुनाव जनताले मत दिएर गरेको गुण तिरिरहेको महशुस भएको बताए। उनले जनताको सेवा तथा हकहितको निम्ति निरन्तर लागि रहने बताए। वडाध्यक्ष अजमलले विद्यार्थी र ज्येष्ठ नागरिक लक्षित थप सहयोग गर्ने योजना रहेको बताए।