झापा–नेपाल कै होचो गाउँपालिकाका रुपमा चिनिने स्थानीय तह कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति, कार्यक्रम र बजेटका लागि युवाहरुसँग अन्तरसँवाद कार्यक्रम मार्फत सुझाव संकलन थालेको छ।
स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।
बजेट निर्माण अघि रायसुझाव संकलनका लागि " जनतासँग जनप्रतिनिधि सँवाद " कार्यक्रम मार्फत प्रत्येक वडाका गाउँ टोलका नागरिकहरुको सल्लाह र सुझाव लिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले बताए । बजेटलाई स्थानीय युवा ,महिला ,कृषकहरुका आवश्यकता र माग अनुसार उपलब्ध स्रोत र साधनलाई प्रभावकारी बनाउन सुझाव माग गरिएको उनको भनाइ छ ।
कचनकवल गाउँपालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीका लागि पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता ,जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ परक बनाउन रायसुझाव माग गरिएको कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताएकाछन्।
कचनकवल गाउँपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने ,गुणस्तरीय शिक्षा कायम गर्ने ,भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिकाले रायसुझाव माग गर्दै जनतासँग सँवाद कार्यक्रम मार्फत आवश्यक सुझाव माग गरिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउँदै।´कचनकवल गाउँपालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने ,शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’
" जनतासँग जनप्रतिनिधि सँवाद " वडाका सम्पूर्ण गाउँटोलमा सञ्चालन गर्दै आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई पालिकाले प्राथमिकता दिन लागिएको छ । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले बताउँदै आउँदो २०८१/०८२ को बजेटमा युवालाई कृषि ,पर्यटन ,लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने ,पूर्वाधार निर्माण ,शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहने भएकोले निरन्तर जनतासँग सँवाद गरिएको बताए ।




















