झापा।नेपाल प्रहरीका अलगअलग चारवटा प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले झापा बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना रहेको पत्ता लगायो । २२ दिनको अनुसन्धानमा हत्यारासम्म पुग्न प्रहरी कुकुरले साथ दिएको थियो ।

यसरी गरियो अनुसन्धान :

घटनालगत्तै कुकुरमार्फत स्निफिङ गराएर विभिन्न दृष्टिकोणबाट अनुसन्धान सुरु गरेको प्रहरीले चोरीमा संलग्न, लागुऔषध प्रयोगकर्ता, आपाराधिक गतिविधिमा संलग्न, कारागारबाट छुटेका लगायत व्यक्तिलाई नजिकबाट निगरानीमा राखेको थियो ।

हत्यापछि के भयो ?

डग स्निफिङका आधारमा घटना भएकै भोलिपल्ट बैशाख २७ गते प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड ४ का गंगाप्रसाद राजवंशीलाई सोधपुछका लागि लगेको बेला उनकी पत्नी वर्षालाई गंगाप्रसादले मोबाइल राखेको पाटाको बोरा खोलामा फाल्न लगाएका थिए ।

बैशाख २८ गते ३ बजे चोरीको सामान राखेको कालो ब्यागबाट सुनको पैसा टाँसिएको औँठी झिकेर अन्य सामान घरनजिकै नालामुनि लुकाएका थिए । सामान लुकाएको वर्षाले पनि देखेकी थिइन् ।

जेठ १६ गते गंगाप्रसादले उनका साथी ज्याक भन्ने भगीरथ माझीको सहयोगमा अर्जुनधारा-६ मा रहेको हनुमान सुनचाँदी पसलका सञ्चालक धनबहादुर कामीलाई २० हजार रुपैयाँमा बेचेका थिए ।

यसरी भयो हत्या :

प्रहरीका अनुसार गंगाप्रसाद उनका साथी महेश राजवंशीका साथमा बैशाख २५ गते राति चारी गर्ने योजनाका साथ ९ बजे घरबाट निस्किएका थिए । सिटी सफारीको टायर खोल्न प्रयोग हुने फलामको मार्तोल र ३ वटा रेन्च लिएर उनीहरु चोरी गर्न निस्किएका थिए ।

सुरुमा उनीहरु स्थानीय सुमन राजवंशीको घरका चोर्न पसेका थिए । तर, त्यहाँ सफल नभएपछि स्थान परिवर्तन गर्दै विष्टको घरमा गएका थिए ।

महेशले विष्टको घर कम्पाउन्डबाहिरै बसेर रेखदेख गरेको र गंगाप्रसाद विष्टको घर कम्पाउन्डभित्र पसेका थिए । यो बेला रातको ११ बजिसकेको थियो । गंगाप्रसादले पश्चिमपट्टिको झ्याल खोल्न खोज्दा विष्टले चोर आए जस्तो छ भनेको सुनेपछि उनी वालबाट हामफालेर भागेका थिए ।

त्यसै बेला ११ः३० बजे विष्टले काठमाडौँमा रहेका कान्छा छोरा प्रकाशलाई फोन गरेर ‘घरको आसपास चोरहरु पो हिँडडुल गर्दैछन् कि, झ्याल ड्याङ ड्याङ पारिरहेको छन्’ भनी सुनाएका थिइन् । आमाको फोन कल पछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई कल गरेर घर गइदिन आग्रह गरेका थिए ।

त्यसपछि सिटौला र अन्य छिमेकीहरु विष्टको घरमा गएर केहीबेर आँगनमा बसेर कुराकानी गरेर फर्किएका थिए । विष्ट पनि त्यसपछि १२ बज्न लाग्दा सुत्न गएकी थिइन् ।

सोही समयमा राजवंशी भागेर नजिकै रहेको डम्बरकुमारी प्रसाईंको घरको झ्यालबाट हात छिराएर कालो रङको झोला चोरेका थिए । झोलामा रहेको ७०० रुपैयाँ लिएर अन्य सामान फ्याँकेर आफूसँग भएको मार्तोल र रेन्च झोलामा राखेर उनीहरु मकैबारीमा लुकेका थिए ।

११ः४५ बजेतिर छिमेकीहरु आआफ्नो घर गएपछि गंगाप्रसाद र महेश पुनः विष्टको घरतर्फ लागेका थिए । गंगाप्रसाद कम्पाउन्ड नाँघेर विष्टको घरभित्र पसे भने महेश बाहिरै बसेर रेखदेख गर्न थाले ।

त्यसपछि घरको पूर्वतर्फ रहेको शौचालयको पछाडि झोला राखेर उनी बसेका थिए । बैशाख २६ गते बिहान १२ः १० बजेतिर विष्टले घरको बाहिरको बत्ती बालेर ढोका खोलेर शौचालय जाँदा शौचालयको पछाडि लुकेर बसेका गंगाप्रसाद ढोकामा रहेको रड लिएर भित्र छिरेका थिए ।

एक घण्टासम्म कोठाभित्रै खाटमुनि लुकेर बसेका गंगाप्रसाद विष्ट सुत्ने बेला बाहिर निस्कँदै गर्दा विष्टले देखेकी थिइन् । विष्टले चोर आयो भनी गुहार माग्दा गंगाप्रसादले आफूसँग भएको रडले विष्टको टाउकोमा तीनपटक प्रहार गरेका थिए ।

त्यसपछि विष्टलाई भुइँमा लडाएर विष्टले लगाएको सुनका गहना निकालेका थिए । सोही रडले कोठाभित्र रहेको दराज फोडेर उनले सुनका गहना र मोबाइल आफूसँग भएको कालो झोलामा हालेका थिए ।

गंगाप्रसाद बिहान २ः४५ विष्टको हत्या गर्दै चोरी गरेर आफ्नो घरमा गएर पुगेर मोबाइल अफ गरेर सुतेका थिए ।

घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश अनुसन्धान समूह, जिल्ला प्रहरी झापा र इलाका प्रहरी अनारमनीका १४ जना प्रहरी खटिएका थिए ।

प्रहरीले आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर विष्टको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने धनबहादुर चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ ।@Jhapatoday