झापा । झापाको कचनकवल गाउँपालिका-५,पाठामारी स्थित नयाँ बजारमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको स्वभाविक मृत्यु नभई हत्या भएको आरोप माईती पक्षले लगाएको छ ।
कचनकवल गाउँपालिका-५ मा स्थायी बस्दै आएका मृतकका पति दीपक शाह तीन दिन अघि मात्रै भारतको दिल्लीबाट अघि घर आएका थिए । दीपक शाहकी २१ वर्षीय श्रीमती कविता शाह हिजो बिहान आफ्नै घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । बिहान ८ बजे अचेत अवस्थामा भेटिएकी कविताको घाँटीमा डाम भेटिएको माइती पक्षले जनाएको छ। बिहानै अचेत भेटिएकी कवितालाई परिवारका सदस्यले १०:४० बजे प्राथमिक स्वास्थ्य केन्द्र बनियानी ल्याईएकामा डाक्टरले हर्टबीट शुन्य रहेको बताएपछि प्रहरीलाई खबर गरेका थिए ।
भारतको बिहार किशनगञ्ज जिल्लाको जियापोखर थाना माईती भएको कविताको विवाह सामाजिक परम्परा अनुरुप पाँच वर्ष अगाडि भएको थियोे । माईती पक्षका मामा सम्बन्ध पर्ने शुरेस शाहका अनुसार निरन्तर सम्पर्कमा रहेकी भाञ्जीले अस्वस्थ भएको कहिले बताईनन्। तीन दिन अघि दिल्लीबाट घर फर्किएका ज्वाईले ११ बजेतिर ससुरालीमा फोन गरेर बताएपछि छक्क परेको सुरेश बताउँछन् ।
भाञ्जीको सदगत गर्न भनी नेपाल आएर हेरेपछि माइती पक्षले हत्या गरेको हुनसक्ने जनाएपछि प्रहरी र जनप्रतिनिधिले पोष्टमार्टमका लागि मेची अस्पताल पठाएको थियोे । अहिलेसम्म प्रहरीलाई घटनाको बिषयमा जाहेरी नदिएपनि जिल्ला प्रहरी कार्यालयले मृतकको पोष्टमार्टमका लागि धरान पठाएको छ। रिपोर्ट नआएसम्म र घटनाबारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने प्रहरीले बताएको छ। पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ ।