झापा । नयाँ  पत्रिका झापाका संवाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन्। राप्रपानिकट युवा संगठनका नेतासमेत रहेका थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई गालीगलौज गर्दै धम्की दिएका हुन्।

शनिबार पत्रकार घिमिरेले  ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा लेखेका थिए । समाचार प्रकाशित भएपछि थापाले घिमिरेलाई फोन गरी आफूले जे पनि गर्न सक्ने भन्दै धम्की दिएका छन्।

पत्रकारलाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको पत्रकार महासंघ झापा शाखा, प्रेस सेन्टर नेपाल झापा प्रेस चौतारी झापा र पत्रकार मञ्च दमकले भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने थापामाथि कानुनी कारबाहीको माग गरेका छन्।

‘पत्रकारले लेखेको समाचारमाथि चित्त  नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने महासंघको ठम्याइ छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।Screenshot_20240505_195716_Facebook 1FB_IMG_1714914273207Screenshot_20240505_195722_FacebookScreenshot_20240505_195728_Facebook