दीपक अधिकारी।भद्रपुर भन्सार कार्यालयले विभिन्न बहाना बनाएर फेरि गैर कानूनी रुपमा रकम असुल्न शुरु गरेको छ । गत असोज महिनामा  भद्रपुर भन्सारले गैरकानूनी रकम असुल्दै गरेको समाचार सञ्चारमाध्यममा बाहिरिएपछि आंशिक रुपमा  गैर कानूनी रकम असुल्न बन्द भएको थियो । अहिले फेरि  चैत १ गतेदेखि भन्सार एजेन्ट मार्फत पुनः पुरानै शैलीमा गैर कानूनी रकम असुल्न शुरु गराएपछि भन्सार कार्यालयप्रति स्थानीयवासी आक्रोशित बनेका छन् । 

भारतीय सवारी साधनलाई  सुविधाको रसिद लिँदा कानुनतः कुनै पनि रकम लाग्दैन । तर, भद्रपुर भन्सारका कर्मचारीले भने हल्का सवारी साधन (कार, भ्यान, जिप)–लाई दैनिक ५० र मोटर साइकललाई दैनिक २० रुपैंया लिँदै आएको थियो । अहिले आर्या नाम गरेको भन्सार एजेन्टले पनि पुरानै दर रेटलाई कायम गर्दै रकम असुल्दै छन् । जुन रकम सरकारी राजश्वमा जाँदैन ।  रकम लिएको कुनै बिल भर्पाई पनि हुँदैन ।

नेपाल–भारतको सम्झौता अनुसार भारतीय सवारी साधनलाई भन्सार कार्यालय रहेको ठाउँबाट नजिकको बजारसम्म पुगी सोही दिन सोही नाकाबाट फर्कने सर्तमा नेपाल प्रवेश गर्नको लागि दिइने इजाजत पत्रलाई  (सुविधा) भन्ने गरिन्छ । यस्तो इजाजत पत्र (सुविधा)–लिँदा कुनै शुल्क लाग्दैन । भन्सारले दिने इजाजत पत्रमा पनि कतै शुल्क उल्लेख हुँदैन । 

इजाजत पत्र (सुविधा)–को पत्रमा सवारी धनीको नाम, सवारीको चेसिस नं., इन्जिन नं., गाडी नं.,सवारी चालकको नाम र चालकको लाइसेन्स नं. उल्लेख गर्नु पर्ने हुन्छ । तर, भन्सारले दिने  इजाजत पत्र (सुविधा)–को पत्रमा कुनैमा पनि पुरा विवरण लेखिएको हुँदैन । सवारी साधन नै भन्सार कार्यालय लगेर मात्र सो इजाजत पत्र दिनु पर्ने कानूनी प्रावधान भएपनि कर्मचारीको मिलेमतोमा (बढी रकम दिएर)–अधिकांश सवारी साधन  भन्सार कार्यालय नलगी सुविधाको इजाजत पत्र  दिने गरेको  दैनिक सुविधा लिने गरेको भद्रपुरका एक भारतीय सवारी चालक बताउँछन् ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारीका अनुसार भद्रपुर भन्सारबाट बढीमा १ सयको हाराहारीमा सुविधा काटिने गरिएको छ । १ यस गाडीको प्रत्येकसँग ५० रुपैंयाका दरले असुली गर्दा दैनिक ५ हजार हुन्छ ।  महिनामा  १ लाख ५० हजार र वर्षको  १८ लाख २५ हजार हुन्छ । 

कानुनतः सुविधाको रसिद काट्ने अधिकार भन्सारको मात्र हो । एजेन्टलाई दिन मिल्दैन । सुविधा काट्दा भन्सारका कर्मचारीबाट रकम असुल्दा विरोध हुने भएकोले एजेन्ट मार्फत गैर कानूनी  रकम असुल्न लगाइएको हो । कार्यालय प्रमुख तिवारीले प्रस्ट रूपमै भने–‘कार्यालयबाट रसिद काट्दा पैसाको लेनदेनमा कर्मचारी बदनाम भए, त्यसैले एजेन्टलाई सुविधाको रसिद काट्न दिइएको हो ।' 

एजेन्टले आधिकारिक हस्ताक्षर बिना सुविधाको रसिद काटिरहेको छ । प्रेसबाट रसिद छपाएर ल्याएर भन्सारको छाप लगाएर भन्सार एजेन्टले आफ्नै कार्यालयबाट सुविधाको रसिद दिँदै पठाउने गरेको छ । गोप्य सूत्रका अनुसार भन्सारका कर्मचारीले उठेको रकमको ५० प्रतिशतमा एजेन्टलाई सुविधाको रकम असुल्न लगाइएको हो । 

सुविधाको रसिद काट्न एजेन्टलाई दिइएको र ५० रुपैंयाको दरले गैर कानूनी रकम असुली गरिरहेको विषयमा भद्रपुर भन्सारका कार्यालय प्रमुख तिवारीसँग जिज्ञासा राख्दा उनले भने–‘मुलुकैभरीको प्राक्टिसमा आयत–निर्यातको फर्म भर्ने काम एजेन्टले गर्ने गरेकोले भद्रपुरमा पनि शुरु गरिएको हो । फर्म भर्ने कामसँगै सुविधाको रसिद काट्न पनि एजेन्टलाई जिम्मा दिइएको हो । तर, रकम ५० रुपैंया लिएको मलाई जानकारी भएन । यदि सुविधाको रकम लिने गरेको रहेछ भने तत्काल सुविधाको रसिद काट्ने काम खोस्छु ।’ 

भद्रपुर भन्सारले सुविधाको रसिद काट्न एजेन्टलाई दिइएको र ५० रुपैंयाको दरले गैर कानूनी रकम असुली गरिरहेको विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग  जिज्ञासा राख्दा आफूले बुझ्ने र यदि गैर कानूनी कार्य भएको रहेछ भने तत्काल  त्यस्तो कार्य बन्द गराउने बताए ।©TOP