सुनसरी। अनलाइन ठगी तथा अवैध कारोबारको रकम संकलन गर्न सर्वसाधारणका नाममा बैंक तथा वालेटमा नक्कली खाता खोल्ने गरिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवा अपराध अनुसन्धान शाखामा प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा कामना सेवा विकास बैंक शाखा ईनरुवामा अनलाइन ठगीमा सँलग्न ब्यक्तिले सम्बन्धित व्यक्तिलाई थाहै नहुने गरी नागरिकताको छाँया कपी दुरुपयोग गरी कसरी नक्कली खाता खोलियो भनेर सम्बन्धित बैंकलाई समेत उपस्थित गराएको हो।
अनलाइन ठगीमा सँलग्न गिरोहले विभिन्न स्थानबाट सर्वसाधारण ब्यक्तिको नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता सरकारी कागजातको छायाँप्रति र फोटो प्राप्त गरी आपराधिक मानसिकता भएका व्यक्तिले डिजिटल वालेटमा भेरिफाइड अकाउन्ट र नगद झिक्न कामना सेवा बैंकमा खाता खोल्ने गरिएको ब्यूरोका अनुसन्धान अधिकृतहरू बताउँछन् ।
कुनै पनि ब्यक्तिले बैंक खाता खोल्न चाहेको खण्डमा सक्कली नागरिकता सहित ब्यक्ति स्वयं उपस्थित भई बैंकले प्रदान गरेको फर्ममा उल्लेखित आवश्यक कागजपत्र सहित तीन पुस्ते विवरण सहित निवेदन दिएको खण्डमा मात्रै आवश्यक प्रकृया पुरा भएको खण्डमा सम्बन्धित ब्यक्तिको नाममा बैंकले बैंक खाता खोलिदिन्छ ।
बैंकले सम्बन्धित ब्यक्तिको सक्कलै नागरिकता,सरकारी कागजपत्रको हस्ताक्षर,तीनपुस्ते विवरण र फोटो भेरीफाई नगरी गिरोहले बैंकमा कसरी सजिलोसँग असम्बन्धित ब्यक्तिको नाममा बैंक खाता जारी मात्रै गरेन मोबाइल बैंकिङ सेवा समेत सञ्चालनमा ल्यायो भन्दै अनुसन्धानको सुई बैंक तर्फ नै फर्किने निश्चित छ।
के हो घटना ?
भर्खरै इन्जिनियरिङ कोर्ष सकेर सर्लाही हरिवनमा काम गर्दै आएका सप्तरी जिल्ला राजविराज नगरपालिका स्थायी बस्ने २३ बर्षीय सुशील यादवको नागरिकताको छायांप्रतिको आधारमा अनलाइन ठगी गर्ने गिरोहले बैंकमा अर्कै फोटो र तीनपुस्ते विवरण भरी बैंक खाता खोली मोबाइल बैंकिङ सेवा समेत सञ्चालन गरि जिल्लाका विभिन्न ब्यक्तीलाई अनलाइन सेवा प्रदान गर्ने भन्दै गिरोहले विभिन्न ब्यक्तिलाई उक्त बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको घटना जनकपुर प्रहरी वृत्तमा पिडीतले ठगीमा परेको भनी बैंक खाता नम्बर सहित उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।
उक्त घटनामा नाम आउनासाथ सुशील यादव नजिकै रहेको कामना सेवा बैंक शाखामा गएर आपत्ति जनाएको भएपनि बैंकले उक्त घटनाक्रमलाई गम्भीरतापूर्वक नलिएपछि यादव प्रहरी समक्ष जाहेरी लिएर पुगेका थिए।
उक्त यादवको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको हो ।कामना सेवा विकास बैंक ईनरुवा शाखामा गत साउन महिनामा गिरोहले अर्कै ब्यक्तिको नागरिकता फोटोकपीमा अर्कै ब्यक्तिको फोटो र झुटो तीनपुस्ते विवरण भरेर बैंक खाता सञ्चालन गरि ठगी गरेको पाईएको हो। गिरोहले भरेको बैंक खाताको विवरणमा फोटो,तीनपुस्ते विवरण,दस्तखत गिरोहले मनमर्जी भरेकोले यादवको नागरिकताको फोटोकपी बाहेक अन्य कुनै विवरण मिलेको छैन। उक्त फर्ममा गरिएको ल्याप्चे समेत प्रष्ट नहुनेगरी गरिएको छ।
उक्त घटनाको सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले मोबाइल बैंकिङ सञ्चालन गरेको मोबाइल नम्बरका आधारमा जिल्ला प्रशासन कार्यलय मार्फत नागरिकताको विवरण लिएपनि उक्त नागरिकताको ब्यक्तिको फोटो र जन्ममीति बैंकले भरेको फर्मको फोटोसँग भिडाउँदा नागरिकतामा भएको ब्यक्तिको जात र उमेर बैंक खातामा भएको फोटो भन्दा अलग्गै जातको रहेको अनुसन्धानमा खटिने प्रहरीले पाएकाले गिरोह सामु पुग्न प्रहरीलाई गिरोहको अन्य थप लुपहोल खोज्नुपर्ने भएको छ।