काठमाडौ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मालगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बोर्डका तत्कालीन अध्यक्ष डा.संजय शर्मा, भिमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरू तथा निर्माण कम्पनीविरुद्ध सार्वजनिक सम्पत्ती हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी सीएमसी दि रभेना लाई रनिङ्ग बिल आईपीसी ३४ मा काम नै नगरी भुक्तानी गरेको,पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामाग्री निर्माण व्यवसायी सीएमसी दि रभेनाले प्रयोग गरेवाफतको रेन्टल चार्ज समेत कट्टा गरी भुक्तानी गरेको, पछिल्लो विलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका विलमा समेत समायोजन नगरेको भन्ने उजुरी निवेदनका आधारमा  अनुसन्धान हुँदा सरकारी सम्पत्ती हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।