कचनकवल : चाराली-केचना हुलाकी राजमार्गसँगै जोडिएको कचनकवल गाउँपालिकाका विभिन्न स्थानमा चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी निकै चिन्तित भएका छन्। व्यवसायीले चोरीका घटना न्यूनीकरण गरी धनमालको सुरक्षा गरिनुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन्।
शृङ्खलाबद्ध रुपमा विभिन्न बित्तीय सँस्थामा भईरहेको चोरीका घटना बढन थालेपछि ब्यवसायी चिन्तित बनेका छन्। चोरीका घटना बढ्दै जान थालेपछि सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय बनियानीले ब्यवसायीहरुसँग छलफल समेत गरिसकेको छ । निर्धक्कसँग व्यवसाय गर्न सक्ने अवस्था छैन। गाउँ बस्तीमा मालसमान जोगाउन धौ धौ हुन थालेको छ।’ गत साता मात्रै चोरहरूले दुईवटा सहकारीको शाखाहरुमा लुटपाट गरेका थिए।साना किसान कृषि सहकारी र कर्णाली बचत तथा ऋण सहकारी पथिरियाको शाखा तोडेर नगद रकम सहित कागजपत्र चोरी गरेर लगेका थिए।
कचनकवलका विभिन्न वडाहरुमा आधा दर्जन बढी घरबाट मोबाइल ,साईकल ,मोटर,मोटरसाइकल चोरी भएको थियो। बजार क्षेत्र नजिकैका स्थानीय ब्यवसायीका पसलहरुमा रातमा चोरी भएका थिए। ‘चोरीका घटना हुन थालेपछि निकै असुरक्षा महसुस गरिरहेका छौं’, स्थानीय एनआईसी एसिया बैंक कर्मचारी नरेश राजवँशीले भने, ‘बजार क्षेत्रमा लगाएको सौर्यबत्ती,सेन्सरयुक्त बत्ती र सिसि टिभी समेत बिग्रँदा समस्या भएको छ।’
बजारक्षेत्रमा जडान भएका बत्ती र सिसि टिभी मर्मतका लागि सरकारलाई जानकारी गराइएको उनले बताए। चोरी नियन्त्रणको प्रभावकारी प्रयास हुँदैन’, उनले भने, ‘त्यसैले चोरीमा संलग्नहरूको मनोबल बढ्दै जाने गरेको छ।’ बजारको सार्वजनिक क्षेत्रमा जडान गरिएका बत्तीमध्ये र सिसि टिभी अधिकांश बिग्रिएको अवस्थामा छन्।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बजार क्षेत्र र प्रत्येक वडाको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन स्थानीय व्यवसायी, प्रहरी र समाजका अगुवाहरूसँग छलफल गरी आवश्यक रणनीति बनाइने बताए।
‘व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय गर्न पाउने वातावरण कायम गर्नका लागि सुरक्षालाई कसरी बलियो बनाउन सकिन्छ। त्यसबारे छलफल अगाडि बढाउँछौं’, उनले भने, ‘बजार क्षेत्रमा बिग्रिएका सौर्यबत्ती ,सेन्सरयुक्त बत्ती र सिसि टिभी मर्मत आगामी केही दिनभित्रै पूरा गर्छौं।´
इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी निरीक्षक दिवस कुमार कार्कीले बजार क्षेत्र र गाउँमा चोरीका घटना न्यूनीकरणका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिएको बताए।
‘सादा पोशाकका प्रहरी समेत खटाएका छौं’, उनले भने, ‘आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी राख्ने र नियन्त्रणमा लिएर सोधपुछ समेत गरिने छ।’ कचनकवल गाउँपालिका भित्रका बजार क्षेत्रमा ५० भन्दा बढी बित्तीय कारोबार गर्ने सहकारी र बैंक तथा सञ्चालनमा छन्।