झापाको कचनकवल गाउँपालिकामा बिभिन्न निर्माण ब्यवसायीले अझै सूचना पार्टी टाँस नगरेको पाईएको छ । सम्झौता मिति, सम्पन्न मिति, लागत रकम लगायतका विविध कुरा उल्लेख गरिने सूचना पाटी कचनकवलमा अधिकाँश निर्माण ब्यवसायीले टाँस नगरेको पाईएको हो । भुक्तानी लिनका लागी सूचना पाटी निर्माण गरेर फोटो खिच्ने तर सम्बन्धित योजना स्थलमा सूचना पाटी राख्ने गरेका छैनन् ।
कचनकवल गाउँपालिकाको वडा नं. २ र ३ नम्बरमा रहेको पथरिया पुरानो बजार हुदै नयाँ बजार जाने मुख्य सडक कालोपत्रे निर्माण, पथरिया हाट घेरावारी देखी नन्दी डाँडा सडक स्तरोन्नती योजना ,गाउँपालिका प्रशासनिक भवनको कम्पाउण्ड निर्माण लगायतका कयौँ योजनाका सूचना पाटी निर्माणको ८० प्रतिशत काम गरिएको भएपनि सूचना पाटी टाँस गरिएको छैन ।
उपभोक्ता समिति वा ठेक्का प्रकृया मार्फत गरिने जुनसुकै काममा स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ परिच्छेद ३ को कार्यान्वयन तथा ब्यवस्थापन अन्तर्गत दफा ११ को भुक्तानी प्रकृया उपदफा (७) मा आयोजनाको कुल लागत ३ लाख भन्दा बढी भएका आयोजनाहरुको हकमा उपभोक्ता समितिले काम शुरु गर्नु भन्दा अगावै आयोजनाको नाम, लागत, लागत साझेदारीको अवस्था, काम शुरु र सम्पन्न गर्नुपर्ने अवधि समेत देखिने गरी तयार गरिएको अनुसूची ५ बमोजिमको ढाँचामा आयोजना सूचना पाटी आयोजना स्थलमा राख्नु पर्नेछ भनि उल्लेख गरिएको भएपनि योजना सम्पन्न भैसक्दा समेत सूचना पाटी टाँस गरिएको छैन ।
कचनकवल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र सुमनले गाउँपालिकामा संचालन भैरहेका योजनाको अनुगमन गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत सुमनले ५ लाख भन्दा माथिका योजना निर्माण गर्दा सूचना पाटी राख्नुपर्ने प्रावधान भएको र अनुगमन गर्दा सूचना पाटी टाँस नगरेको पाईए भुक्तानी प्रक्रिया रोकिने बताए ।
कचनकवल गाउँपालिकाले स्वत प्रकाशन गर्नु पर्ने सूचना, योजना स्थलमा सूचना पाटी टाँस गर्ने, सबैले देख्ने गरी र बुझ्ने गरी नागरिक वडापत्र राख्ने लगायतका कार्य गरी गाउँपालिका सुशासनको पाटोमा मजबुत रहेको अनुभुति दिलाउनुपर्ने स्थानीय वुद्धिजीवीहरुको भनाई छ । गाउँपालिका भित्र सञ्चालित जुनसुकै योजनाको स्पष्ट सूचना आम सर्वसाधारणले देख्नेगरि टाँस गर्न अनिवार्य लगाउने हो भने नागरिक सूचना पाउनबाट बन्चित नहुने, योजनाको लागत रकमको बारेमा जानकारी पाउने भएकोले योजना लथालिङ्ग र लापार्वाही नचल्दा गाउँपालिका भित्रका जुनसुकै योजनामा बेथिति नमौलाउने स्थानीय बताउँछन् ।