बनियानी ।अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रम कचनकवल गाउँपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक साखाको आयोजनामा कचनकवलको मुख्य बजार बनियानी वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालयको सहयोगमा नाराजुलुस गरी औपचारिक कार्यक्रम कचनकवल गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएको छ ।
कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्यहरू, विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्यहरू, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु, इलाका प्रहरी कार्यालयका प्रमुख दिवस बहादुर कार्की, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यतामा विभिन्न संघ संस्थाका प्रतनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप (CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ ।
महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरेर मनाइन्छ ।