ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको नियुक्तिपत्रमा उल्लेख छ ।
पाथीभरा क्षेत्र गठन आदेश २०५६ अनुसार कार्यकारी निर्देशकको पद नेपाल सरकारको उपसचिव सो सरहको हुन्छ । क्षेत्र विकास समितिका अनुसार मासिक तलब भत्ताको व्यवस्था हुन्छ । यो पदमा यसअघि मनमणि काफ्ले रहेका थिए । काफ्लेको म्याद कात्तिक ६ गते सकिएपछि मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो ।
हाङवाङ आठराई त्रिवेणी गाउँपालिका निवासी हुन् । यसअघिको स्थानीय तहको निर्वाचनमा हाङवाङ माओवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारसमेत बनेका थिए । उनी पाथीभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् । पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष र सदस्यहरुको नियुक्ति पनि मन्त्रालयले गर्ने गरेको छ ।