१९९० को भूकम्प

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।


मिति विवरण न खुलेको

यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।


२०४५ को भूकम्प

हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो।


२०६८ को भूकम्प

यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।


२०७२ को भूकम्प

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।


२०८० को भूकम्प 

२०८० साल कार्तिक १८ गते जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।