केचना ।कचनकवल-४(पुर्व लोधाबारी)स्थित ११७ नम्बर नेपाल भारत सीमाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको ८० किलो माछा बरामद पछि नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय केचनाका प्र.स.नि.राज कुमार यादवको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले बिहान ९:२० बजे उक्त माछा बरामद गरी माछालाई शनिवार  नष्ट गरिएको हो।


कचनकवल गाउँपालिका भित्र कार्तिक १ गतेबाट अबैध भारतीय माछा पुर्ण रुपमा प्रतिबन्धित घोषणा गरिएपनि बजारमा प्रतिबन्धित माछा निर्वाध रुपमा बिक्रीवितरण भईरहेको छ । स्थानीय बजार ब्यवस्थापनको जिम्मा लिएर बसेका बजार ब्यवस्थापन समिति भने सरकारलाई सहयोग गर्नुको सट्टा निदाएर बसेको पाईन्छ ।


इलाका प्रहरी कार्यालय केचनाका प्रमुख राज कुमार यादवले नष्ट गरिएको माछा भारतबाट अबैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याउदै गरेको बताए। उनले भने ‘कचनकवलमा भारतबाट ल्याईने जुनसुकै माछा कार्तिक १ गतेबाट प्रतिबन्धित छ"। 


झोलामा हाली पम्प्लेड,रहु,पङ्गास प्रजातिका माछा बनियानीतर्फ लैजान लागिएको हुनसक्ने बताए । बरामद माछा खान नमिल्ने अवस्थामा समेत रहेको उनले बताए। ‘भौतिक रुपमा हेर्दा माछामा गन्ध आएको छ, उनले भने ‘अबैध र गन्ध आएपछि वेवारिसे माछा नष्ट गरेका हौँ।’ नष्ट गरेको माछालाई स्थानीय बजार मूल्य अनुसार २४ हजार बढी रुपैयाँसम्म पर्ने उनले बताए। 


बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २ (ख) अनुसार नियम अनुसार विधि अपनाई ईलाका प्रहरी कार्यालय परिसरमा सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।