केचना ।कचनकवल-४(बयवारी)मा अवैध रुपमा लुकाई छिपाई झाडीमा राखिएको २०० किलो माछा नष्ट गरिएको छ। इलाका प्रहरी चौकी केचनाका प्र.स.नि.राज कुमार यादवको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले बिहान ९ बजे उक्त माछा बरामद गरी माछालाई आइतवार नष्ट गरिएको हो।
इलाका प्रहरी चौकी केचनाका प्रमुख राज कुमार यादवले नष्ट गरिएको माछा भारतबाट अबैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याउन लागिएको हुन सक्ने बताए। उनले भने ‘भारतबाट अवैध रुपमा भित्रिएको हुन सक्छ।’
झोलामा हाली पम्प्लेड,रहु,पङ्गास प्रजातिका माछा बनियानीतर्फ लैजान लागिएको हुनसक्ने बताए । बरामद माछा खान नमिल्ने अवस्थामा समेत रहेको उनले बताए। ‘भौतिक रुपमा हेर्दा माछामा गन्ध आएको छ, उनले भने ‘अबैध र गन्ध आएपछि वेवारिसे माछा नष्ट गरेका हौँ।’ अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए। नष्ट गरेको माछालाई स्थानीय बजार मूल्य अनुसार साठी हजार बढी रुपैयाँसम्म पर्ने उनले बताए।
बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २ (ख) अनुसार नियम अनुसार विधि अपनाई ईलाका प्रहरी कार्यालय परिसरमा सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।