मनिष बराल, कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं ६, नयाँ होसना स्थित कृष्ण प्रसाद राजवंशीको भान्सा घरमा ७:०० बजेको समयमा आगलागी भएको छ ।
आँफूहरु बेलुकीको खाना खाइसकेर टिभी हेर्दै गरेको समयमा ग्याँस लिकेज भएर आगो लागेको परिवारले बताएका छन् । ईलाका प्रहरी कार्यालय बनियानी तथा भद्रपुर नगरपालिकाको दमकलको सहायतामा उक्त आगोलाई नियन्त्रणमा लिइएको हो ।आगो निभाउने क्रममा उक्त घरकी बृद्धा महिलालाई घाँटीमा चोट लागेकाले उनलाई बनियानी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ ।
उक्त भान्सा कोठामा रहेका भाँडाकुँडा, किचन र्याक, फ्रिज, ३०-३५ किवी काठ समेत जलेर नष्ट भएको छ । आगलागीका कारण कुनै मानवीय क्षती नभएको परिवारले जनाएको छ ।




















