झापा। स्थानीय तहको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थालाई प्रभावकारी बनाउन पत्रकारिता तथ्यमा आधारित, निष्पक्ष र खोजमूलक हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आईतवार हल्दिबारी-२ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले निष्पक्षताका साथ सत्य र तथ्यमा आधारित विषय उठाउनुपर्ने बताउनुभयो। स्थानीय पत्रकारिताले सकारात्मक कामको प्रवर्द्धनसँगै सार्वजनिक निकायका कमजोरी औंल्याएर सुधारका लागि खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो। स्थानीय पत्रकारको क्षमता विकास र हितका लागि गाउँपालिका सहकार्य गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो।

अन्तरक्रियामा राजनीतिक दल, जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी, खानेपानी, धार्मिक तथा पर्यटकीय क्षेत्र, व्यवसायी, सामाजिक संघ-संस्था र अपाङ्गता क्षेत्रमा क्रियाशील प्रतिनिधिहरूले स्थानीय विकासका विभिन्न आयामबारे धारणा राखेका थिए।

सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार, सार्वजनिक सेवा प्रवाह तथा सामाजिक विकाससँग सम्बन्धित स्थानीय मुद्दालाई पत्रकारिताले प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखे। उनीहरूले पत्रकारिता सूचना सम्प्रेषणमा मात्र सीमित नभई नागरिक र सरकारबीच संवादको सेतु तथा स्थानीय सरकारलाई जवाफदेही बनाउने प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाईं, श्रम संस्कृति पार्टीका अध्यक्ष सुमन नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक खगेन राजवंशी, एकता साकोसका अध्यक्ष हरिकृष्ण अधिकारी, साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ र साना किसान जलथलकी अध्यक्ष खेसकुमारी बन लगायतले आ-आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पाख्रिन, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष जय पोखरेल, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण दाहाल, कल्याण साकोसका प्रतिनिधि सन्तोष मेचे, जलथल खानेपानीका प्रतिनिधि बलराम गिरी, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी पालिका शाखाका संयोजक रेम खरेल, आदिवासी जनजाति महासंघ हल्दिबारीका अध्यक्ष अर्जुन राई र हल्दिबारी अपाङ्गता सबलीकरण संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वा लगायतले स्थानीय तहमा देखिएका समस्या, सम्भावना र सुधारका उपायबारे सुझाव प्रस्तुत गर्नुभएको थियो।

सहभागीका जिज्ञासाको सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले स्थानीय सरकारका सकारात्मक कामलाई उजागर गर्नुका साथै कमजोरीप्रति रचनात्मक खबरदारी गर्ने पत्रकारितालाई आफूहरूले सम्मानपूर्वक ग्रहण गर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय पत्रकारितालाई व्यावसायिक, तथ्यपरक र उत्तरदायी बनाउँदै स्थानीय नागरिकका वास्तविक सरोकारलाई पत्रकारिताको केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

ग्रामीण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका महासचिव हैकम घिसिङले गर्नुभएको थियो भने अन्तरक्रिया सत्रको सहजीकरण लोकेन्द्र थपलियाले गर्नुभएको थियो।

अन्तरक्रियाले स्थानीय सरकार, पत्रकारिता, नागरिक समाज र सरोकारवाला निकायबीच नियमित संवाद र सहकार्यलाई संस्थागत गर्दै स्थानीय विकासलाई थप उत्तरदायी, पारदर्शी र नागरिकमुखी बनाउनुपर्ने सन्देश दिएको छ।