कचनकवल । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवामा उत्प्रेरणा, आत्मविश्वास, सकारात्मक सोच र नयाँ सिकाइको विकास गर्ने उद्देश्यले कचनकवल जेसीज र कचनकवल गाउँपालिकाको संयुक्त आयोजनामा ‘युवा प्रेरणा कार्यक्रम : अनुभवदेखि सम्भावनासम्म’ सम्पन्न भएको छ।

डा. दिपेन राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजमा आफ्नो पहिचान स्थापित गर्न सफल तथा प्रेरणादायी युवा व्यक्तित्वहरूले आफ्ना अनुभव, संघर्ष, सिकाइ र सफलताका कथा युवामाझ प्रस्तुत गरेका थिए। अनुभव आदान-प्रदानमार्फत सहभागी युवालाई चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने, आफ्नो क्षमता पहिचान गर्ने तथा भविष्यका सम्भावनाको खोजीमा अघि बढ्ने प्रेरणा प्रदान गरिएको थियो।

कार्यक्रमले युवाको ऊर्जा र सम्भावनालाई केवल अभिव्यक्तिमा सीमित नराखी त्यसलाई सिर्जनशीलता, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ। अनुभवबाट सिक्ने र सम्भावनालाई पहिचान गर्दै अघि बढ्ने संस्कारले युवाको आत्मविश्वाससँगै समाज रूपान्तरणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित कार्यक्रम कचनकवलका युवाका लागि आफ्ना सम्भावना बुझ्ने, प्रेरणादायी व्यक्तित्वका अनुभव सुन्ने र भविष्यप्रति नयाँ दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

कार्यक्रम सफल बनाउन उपस्थित भई सहभागिता जनाउने कचनकवल क्षेत्रका युवा, युवाप्रेमी, सरोकारवाला तथा सम्पूर्ण सहभागीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।