काठमाडौं । जी.पी. कोइराला मेमोरियल (सामुदायिक) कलेजको १५औँ वार्षिकोत्सव तथा नेपालका पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शिक्षा, लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वबीचको समन्वयलाई समयको प्रमुख आवश्यकता भएको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई जिम्मेवार, नैतिक र राष्ट्रप्रति समर्पित नागरिक निर्माण गर्ने आधार भएको उल्लेख गरे। उनले सामुदायिक शैक्षिक संस्थाहरूले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता संस्थाको गुणस्तर अभिवृद्धि र दिगो विकासका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

उनले नेपाली लोकतान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदान, लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता र राष्ट्रिय एकताका लागि खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै नयाँ पुस्ताले उहाँका आदर्श, त्याग र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा कलेजको १५ वर्षे शैक्षिक यात्रा, उपलब्धि तथा आगामी योजनाबारे पनि चर्चा गरिएको थियो। वक्ताहरूले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी अध्ययन, सीप विकास तथा सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई थप प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

उक्त कार्यक्रममा शिक्षाविद्, राजनीतिक नेतृत्व, प्राध्यापक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।