बनियानी । कचनकवल गाउँपालिकाले स्थानीय युवालाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरेको सातदिने बेकरी तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ।

गाउँपालिकाको रोजगार सेवा केन्द्र र उद्यम विकास कार्यक्रमको आयोजनामा तथा मेची टुरिजम हस्पिटालिटी सोलुसन प्रा.लि., चन्द्रगढीको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा २४ जनाको सक्रिय सहभागिता रहेको छ।

तालिमको स्थलगत अवलोकन गर्न गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल सहितको टोली तालिम केन्द्र पुगेको थियो। अवलोकनका क्रममा टोलीले प्रशिक्षार्थीसँग अन्तरक्रिया गर्दै सिकाइलाई व्यवहारमा रूपान्तरण गरी स्वरोजगार तथा उद्यमशीलताको आधार निर्माण गर्न प्रेरित गरेको थियो।

गाउँपालिकाले सीपमूलक तालिमलाई स्थानीय आर्थिक सशक्तीकरणको महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ। तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यावसायिक रूपमा प्रयोग गर्दै सहभागीहरूले आय-आर्जनका अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्न सफल हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्ने, उद्यमशील संस्कृतिको विकास गर्ने तथा वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्ने उद्देश्यसहित यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने गाउँपालिकाको प्रतिबद्धता रहेको छ।