झापा, असार ३० - भद्रपुरस्थित एक होटलमा धारिलो हतियार प्रदर्शन गर्दै गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गर्न प्रहरी निरीक्षक विजय चौहान नेतृत्वको टोली सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार २८ गते राति १ बजे भद्रपुर-८ स्थित उडल्याण्ड होटलमा खुकुरी र कत्ति देखाउँदै आतंक सिर्जना गरिएको सूचनापछि प्रहरी परिचालन गरिएको थियो। प्रहरी पुग्नुअघि नै संलग्न व्यक्तिहरू फरार भए पनि घटनालाई गम्भीर रूपमा लिएर प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा विशेष खोजी अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियानकै क्रममा असार २९ गते भद्रपुर-१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट मेचीनगर-१० निवासी ३६ वर्षीय कबिराज गुरुङ र बिर्तामोड-७ निवासी ३० वर्षीय पराजय चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियारसमेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका दुवै व्यक्ति जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत कर्मचारी रहेको खुलेको छ।

प्रहरी निरीक्षक विजय चौहानको सक्रिय नेतृत्व, अनुसन्धान क्षमता र निरन्तर खोजतलासकै परिणामस्वरूप फरार रहेका व्यक्तिहरूलाई छोटो समयमै नियन्त्रणमा लिन सफलता प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।