काठमाडौँ-केपी शर्मा ओली पितृशोकमा परेका छन्। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। परिवार स्रोतका अनुसार उनको उपचारका क्रममा नेपाल–कोरिया मैत्री अस्पतालमा देहावसान भएको हो।
अस्पताल स्रोतले जनाएअनुसार मोहनप्रसाद ओली केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए र उपचारकै क्रममा उनको अवस्था गम्भीर बनेको थियो। निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ।
परिवारजनका अनुसार स्वर्गीय ओलीको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिनेछ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनका जेठा छोरा केपी शर्मा ओली नेपालको प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा देशको राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेता हुन्।
मोहनप्रसाद ओलीको निधनसँगै ओली परिवार मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा पनि शोकको वातावरण छाएको छ। विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।




















