बनियानी । कचनकवल गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि काठमाडौंमा गरिएको जनप्रतिनिधि भ्रमण ऐतिहासिक रूपमा सार्थक भएको छ। प्रतिनिधिमण्डलमा गाउँपालिकाका जनप्रतिनिधि र निवर्तमान प्रदेशसभा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। गणतन्त्रको वास्तविक स्वाद जनतासम्म पुर्याउने उद्देश्यले समन्वय, सहकार्य र एकताको भावना प्रस्तुत गर्दै उनीहरूले विकासको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने स्पष्ट संकेत दिएका छन्।


यस भ्रमणका क्रममा प्रधानमन्त्री, शहरी विकास मन्त्री, अर्थमन्त्री र अन्य सम्बन्धित निकायहरूसँग गरिएका भेटघाट तथा छलफल फलदायी सावित भएका छन्। कचनकवलका विभिन्न क्षेत्रमा एकैपटक करोडौं रुपैयाँको पूर्वाधार विकास योजनाहरू स्वीकृत हुनु यो भ्रमणको ठोस उपलब्धि मानिएको छ।
सिङ्गीमारी कुमाले बस्तीदेखि बालुबाडी बजार जोड्ने सडकको कालोपत्रेसहित चन्द्रमणि मार्ग हुँदै ब्रिकचन्द्र बस्ती जोड्ने सडक निर्माणका लागि मात्र ६ करोड रुपैयाँ छुट्याइएको छ।
अमल खुट्टामा पुल निर्माणका लागि ३ करोड बजेट विनियोजन गरिएको छ, जसले ग्रामीण भेगको आवागमनलाई सहज बनाउनेछ।
बनियानीमा निर्माण हुने प्राविधिक शिक्षालयका लागि २ करोड २५ लाख रुपैयाँको बजेट सुनिश्चित गरिएको छ। यस संस्थाले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
केचना पोखरी सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ३ करोड रुपैयाँको परियोजना अघि बढाइएको छ। यो क्षेत्रलाई आन्तरिक पर्यटनको केन्द्रबिन्दु बनाउने दीर्घकालीन योजना रहेको जनाइएको छ।
बनियानी कृषि उपज बजारको स्तरोन्नतिका लागि ३ करोड रुपैयाँको विनियोजन गरिँदा, कृषकहरूलाई उचित मूल्य, भण्डारण र बजार पहुँचको सुविधा पुग्नेछ।
धौला बस्ती हुँदै चन्द्रमणि प्रतिष्ठानसम्म पुग्ने सडकले टाढाका बस्तीलाई सेवा र सुविधा केन्द्रसम्म जोड्नेछ। यसले विशेषगरी वृद्ध, महिला, बालबालिका र अशक्त वर्गलाई सुलभ स्वास्थ्य पहुँच पुर्याउनेछ।
गाउँपालिकाका नेतृत्वकर्ताहरूले योजना कार्यान्वयनमा आम कचनकवलवासीको रचनात्मक सहयोग रहने विश्वास व्यक्त गरेका छन्। “यदि हामी सबै मिलेर समन्वय गर्छौं भने विकास असम्भव छैन भन्ने उदाहरण हामीले दिएका छौं,” जनप्रतिनिधिको भनाइ थियो।
सम्माननीय प्रधानमन्त्री, शहरी विकास मन्त्री, अर्थमन्त्री, तथा योजना कार्यान्वयनमा सहयोग पुर्याउने सुनिता बरालप्रति विशेष आभार व्यक्त गरिएको छ। साथै, समग्र कचनकवलबासीलाई हार्दिक बधाई दिइएको छ।
जरुरी सूचना :