झापा, बैशाख ३० – कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँ, योजना अधिकृत केशव मैनाली र वडा नं २ का अध्यक्ष लेखनाथ खत्री काठमाडौँका विभिन्न मन्त्रालयमा पुगेको तस्बिर सार्वजनिक भए पनि, उनीहरूले लिएर गएका योजनाहरूको विवरण अझै सार्वजनिक गरिएको छैन।


उनीहरूको काठमाडौँ भ्रमण सम्बन्धी तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन्। मन्त्रालयका भवन अगाडि खिचिएका तस्बिरहरूले चर्चा बटुल्दै गर्दा स्थानीयवासी र सरोकारवालाहरू भने भ्रमणको उद्देश्य र एजेन्डा गोप्य राखिएकोप्रति चासो व्यक्त गर्न थालेका छन्।
उपलब्ध स्रोतका अनुसार टोलीले केही महत्वपूर्ण पूर्वाधार योजनाहरू, बजेट विनियोजन र विकास कार्यक्रमसँग सम्बन्धित कुराकानीका लागि मन्त्रालयस्तरीय भेटघाटहरू गरेको अनुमान गरिएको छ। भ्रमणपूर्व गाउँपालिकाले कुनै सार्वजनिक सूचना नदिएको, न त भ्रमणपछिको औपचारिक जानकारी नै प्रवाह गरिएको अवस्था स्थानीय सरकारको पारदर्शितामाथि प्रश्न उठाउने खालको भएको भन्दै टिप्पणी भइरहेका छन्।