झापा, कचनकवल - अपाङ्गता रोकथाम तथा पुनःस्थापनका लागि कचनकवल गाउँपालिकासँगको त्रिपक्षीय कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-५, डागावारीका दृष्टिविहीन जेठा मुर्मुलाई जीविकोपार्जनका लागि वाद्ययन्त्र हस्तान्तरण गरिएको छ।

देशका विभिन्न स्थानमा गीत गाएर जीविकोपार्जन गर्दै आएका मुर्मुलाई सामाजिक तथा आर्थिक सशक्तिकरणको उद्देश्यले उक्त वाद्ययन्त्र प्रदान गरिएको हो। कार्यक्रम करुणा फाउन्डेसन नेपाल, कचनकवल गाउँपालिका र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल तथा करुणा फाउन्डेसन पालिका संयोजक अञ्जना लामिछानेको उपस्थिति रहेको थियो।

प्रविधि हस्तान्तरण कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित सीपमूलक तथा व्यवसायिक तालिम अन्तर्गत गरिएको हो। यस कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै समाजमा समावेशीता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

प्रविधि हस्तान्तरणपछि जेठा मुर्मुले कचनकवल गाउँपालिकाले अपांगता रोकथाम तथा पुनःस्थापनका लागि अपांगलाई समेत समाजमा योगदान पुर्याउन सक्छन् भन्ने सन्देश दिएकोमा विशेष धन्यवाद प्रदान गर्नुभयो ।