राजापुर, वैशाख १५ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शिक्षक आन्दोलनका मागहरू जायज र पूरा गर्न सकिने खालका रहेको बताएका छन्।

बर्दियाको राजापुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनरत शिक्षकहरूले विगतका सहमति कार्यान्वयनको मागमात्रै राखेको स्पष्ट पारे।

"हजारौं–लाखौँ शिक्षकहरू आफ्नो जायज माग लिएर आन्दोलित छन्। उनीहरूले कुनै नयाँ वा पूरा गर्न नसकिने माग गरेका छैनन्," प्रचण्डले भने, "हिजोका सरकारहरूसँग भएका सम्झौता र सहमति अनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक ठूलो माग छैन।"

उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा शिक्षकहरूसँग सम्झौता गरी संसदमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको उल्लेख गर्दै सो विधेयक पारित भए आन्दोलनको समाधान हुने बताए। "म प्रधानमन्त्री हुँदा सम्झौतानुसार नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरेको हुँ, अहिले त्यस विधेयकमाथि उपसमितिमा छलफल भइरहेको छ," उनले भने।

तर, अहिलेको सरकारले आन्दोलनरत शिक्षकहरूप्रति सम्मानजनक व्यवहार नगरी अपमानित र उत्तेजित पार्ने कार्य गरिरहेको प्रचण्डको आरोप छ। उनले सहमतिका आधारमा समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गरे।