बनियानी- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै कचनकवल लगायत तराईका जिल्लामा छैठको रौनक शुरु भईरहँदा पाठामारी स्थित मेची नदि किनारमा भब्य तयारी थालिएको छ ।

कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छैठ पर्वको लागि अहिले मिथिला समाज बनियानी र पाठामारीको सँयुक्त सहभागितामा मेची नदि किनारलाई दुलहीझैँ सिंगार्न थालिएको छ ।

मिथिला समाज बनियानीले गतवर्षबाट पाठामारी स्थित मेची नदिमा छैठ मनाउँदै आएकोमा यसवर्ष भने श्रद्धालु तथा भक्तजनका लागि बनियानीबाट पाठामारीसम्म जान आउन यातायातको नि:शुल्क प्रबन्ध गर्ने भएको छ।

बनियानी स्थित बरझोडाखोला पुल किनारमा लामो समयदेखि छैठ मनाउँदै आएकोमा जनसंख्या वृद्धि भएसँगै उक्त स्थान साँघुरो भएपछि गतवर्षबाट कचनकवल-५ (पाठामारी) स्थित मेची नदिका डिलमा छठ पूजाका लागि सजाउने काम भइरहेको छ ।

मिथिला समाज समिति बनियानीका अध्यक्ष दिनेश चौधरीले मेची नदिको डिलमा छैठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । मेची नदिको डिलमा करिव ८० भन्दा बढी परिवारले एक साथ छैठ पर्व मनाउने गरेको उनले बताए ।

छैठ पूजाका लागि बनियानी र पाठामारीका ब्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने कतिपय ब्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् ।

छैठ पर्व  मनाउँदा  चर्म रोग ,पुत्रलाभ ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन मँगलवार नुहाई खाई ,दोस्रो दिन अर्थात् बुधवार खरना ,तेस्रो दिन बिहीवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व समापन गरिन्छ ।