कचनकवल, झापा । पाठेघरको मुखको क्यान्सरजस्तो गम्भीर तथा दीर्घकालीन स्वास्थ्य समस्याबाट बालिका तथा किशोरीहरूलाई सुरक्षित राख्ने उद्देश्यसहित कचनकवल गाउँपालिकामा एचपीभी (HPV) खोप सेवा सञ्चालन हुने भएको छ।

गाउँपालिकाका अनुसार यही मिति २०८२ माघ २५ गतेदेखि २९ गतेसम्म कचनकवल गाउँपालिका अन्तर्गतका वडा नम्बर १ देखि ७ सम्म हाल सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालयहरूमा अध्ययनरत छात्राहरू तथा लक्षित समुदायका बालिका–किशोरीहरूलाई तालिम प्राप्त खोपकर्मीमार्फत खोप प्रदान गरिनेछ।

उक्त अभियानअन्तर्गत विशेषगरी कक्षा ६ मा अध्ययनरत छात्राहरू, विद्यालय नजाने १० वर्ष उमेर पुगेका बालिका तथा किशोरीहरू, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्राहरू, तथा गत वर्ष छुटेका १०-१४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीहरूलाई लक्षित गरिएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम अत्यन्त न्यून बनाउने भएकाले समयमै खोप लगाउनु दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि निर्णायक कदम हो। यस अभियानले व्यक्तिगत स्वास्थ्य मात्र नभई परिवार, समुदाय, स्थानीय तह हुँदै राष्ट्रको स्वास्थ्य सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

गाउँपालिकाले लक्षित समूहका आमाबुवा, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना छोरी, चेली तथा नानीहरूलाई आफूलाई पायक पर्ने विद्यालयस्थित खोप केन्द्रमा उपस्थित गराई सेवा लिन आग्रह गरेको छ। साथै अभियानलाई १०० प्रतिशत सफल बनाउन खोपकर्मीहरूसँग आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि अपिल गरिएको छ।

स्थानीय तहले यो अभियानलाई स्वस्थ कचनकवल निर्माणतर्फको महत्वपूर्ण पाइलाको रूपमा लिँदै “हाम्रो कचनकवल, स्वस्थ कचनकवल” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने प्रयास भएको जनाएको छ।