झापा । कचनकवल गाउँपालिकामा सञ्चालन हुन लागेको AI Digital X-ray शिविरलाई प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि स्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका अध्यक्ष न्यास अजमल मियाको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा प्रशिक्षकका रूपमा घनश्याम यादवले सहभागी स्वयंसेविकालाई क्षयरोग पहिचान, जोखिम समूह पहिचान तथा समुदायस्तरमा सचेतना विस्तारका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो। अभिमुखीकरणमा कचनकवल गाउँपालिका वडा नं. १, २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अभिमुखीकरणपछि सञ्चालन हुने AI Digital X-ray शिविर अन्तर्गत पथरिया स्वास्थ्य चौकीमा ३० गते, घेराबारी स्वास्थ्य चौकीमा २ गते र केचना स्वास्थ्य चौकीमा ३ गते शिविर सञ्चालन गरिने जानकारी दिइएको छ।

कार्यक्रममा क्षयरोगका प्रमुख लक्षणहरूबारे विशेष जानकारी दिइएको थियो। दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, खोकीसँग कफ आउनु र कहिलेकाहीँ रगत मिसिनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, बेलुका वा राति ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु, भोक नलाग्नु तथा शरीर कमजोर भई थकान महसुस हुनु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ।

स्थानीय तह, स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सहकार्यले क्षयरोग जस्ता दीर्घ रोगको समयमै पहिचान र उपचारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। AI प्रविधिमा आधारित डिजिटल एक्स-रे शिविरले ग्रामीण भेगका नागरिकलाई निःशुल्क, छिटो र भरपर्दो स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।