झापा । कचनकवल गाउँपालिका-३ अन्तर्गत डाँगीबारीमा आज स्वास्थ्य चौकी पथरियाबाट खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरीय रोग खोजपडताल कार्यक्रम सम्पन्न गरेको छ। क्षयरोग, कुष्ठरोग, पोषण अवस्था, मधुमेह तथा उच्च रक्तचाप जस्ता दीर्घ तथा संक्रामक रोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमबाट स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित भएको छ।

कार्यक्रममा जम्मा १२० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १८ जनामा उच्च रक्तचाप, ५ जनामा मधुमेह देखिएको छ भने ३ जनामा कुष्ठरोग शंकास्पद र १७ जना क्षयरोग शंकास्पद रूपमा पहिचान भएका छन्। प्रारम्भिक स्क्रिनिङबाटै यति ठूलो संख्यामा शंकास्पद बिरामी फेला पर्नु समुदायमा नियमित स्वास्थ्य परीक्षणको आवश्यकता कति गहिरो छ भन्ने संकेतका रूपमा हेरिएको छ।

स्वास्थ्य चौकी पथरियामा मिति २०८२ साल मङ्सिर २६ गते सम्पन्न महिला स्वास्थ्य स्वयंसेवकहरुको मासिक बैठकले यस कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकको निर्णयअनुसार अब हरेक महिना १० गतेदेखि १७ गतेसम्म कचनकवल वडा नम्बर ३ का विभिन्न टोलहरूमा यस्तै प्रकारका स्क्रिनिङ तथा खोजपडताल कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले मङ्सिर २९ गते डाँगीबारी, १ पौषमा हातीपाला र २ पौषमा बडो केचनामा खोजपडताल कार्यक्रम गर्ने कार्यतालिका तय गरिएको छ। स्वास्थ्यकर्मी र म.स्वा.से. हरुको सहकार्यमा घर-घरमै पुगेर गरिने यस्तो पहलले रोग लुकेर बस्ने अवस्था घटाउने, समयमै उपचारमा ल्याउने र समुदायको स्वास्थ्य सचेतना बढाउने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमै रोग पहिचान र रोकथाममा केन्द्रित यस्ता कार्यक्रमले दीर्घकालमा स्वास्थ्य खर्च घटाउने मात्र नभई स्वस्थ र सचेत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूको विश्वास रहेको छ।