कचनकवल, झापा - सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, कचनकवल गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि फोलिक एसिड चक्की सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ (NFDN) को प्राविधिक सहकार्यमा २०८२ मंसिर २२ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको सभाहलमा सम्पन्न उक्त अभिमुखीकरणमा गर्भवती तथा प्रजनन उमेरका महिलाका लागि फोलिक एसिडको आवश्यकता, नियमित सेवनले हुनसक्ने जन्मजात अपाङ्गता जोखिम न्यूनीकरण, मातृ-शिशु स्वास्थ्य सुरक्षा तथा रोकथाममुखी स्वास्थ्य अभ्यासका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशीले समुदायमै गर्भपूर्व-गर्भपश्चात् स्वास्थ्यका विषयमा सचेतना बढाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको बताउँदै, “अपाङ्गता रोकथामको सबैभन्दा प्रभावकारी उपाय सही समयमै गरिएको स्वास्थ्य अभ्यास हो,” भन्दै यस कार्यक्रमले गाउँपालिकामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
अभिमुखीकरण कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य स्वयंसेविकालाई सशक्त बनाइएर मात्र मातृ-शिशु स्वास्थ्य सुरक्षित हुने बताउँदै, “गाउँपालिकाको प्रत्येक घर-घरमा स्वास्थ्य सेवा र जानकारी पुर्याउने जिम्मा स्वयंसेविकाको काँधमै निर्भर छ,” भन्दै निरन्तर सीप अभिवृद्धिले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने उल्लेख गर्नुभयो।
कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले फोलिक एसिडको महत्व र समुदायमा यसको नियमित अभिलेख व्यवस्थापनको विषयमा जोड दिँदै, गर्भधारणपूर्व नै फोलिक एसिड प्रयोग सुरु गर्न सकिए जन्मजात अपाङ्गता जोखिम धेरै हदसम्म घटाउन सकिने बताउनुभयो।
त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविका रेनुका राजवँशीले अभ्यासमै आधारित तालिमहरूले उनीहरूको सेवा क्षमतामा थप वृद्धि भएको बताउँदै, “गाउँ-टोलका महिलालाई सजिलै बुझिने भाषामा फोलिक एसिडको महत्व बुझाउन अब हामी अझ सक्षम भएका छौँ,” भनी अनुभव सुनाउनुभयो।
कार्यक्रममार्फत कचनकवल गाउँपालिका भित्र रहेका सम्पूर्ण नव दम्पतीलाई घर-घरमै पुगेर ‘नव दम्पती शुभकामना कार्ड’ वितरण गर्ने जिम्मा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिएको छ। उक्त कार्डमार्फत गर्भधारणपूर्व अपनाउनुपर्ने स्वास्थ्य सावधानी, फोलिक एसिड सेवन, पोषण, स्वास्थ्य जाँच तथा परिवार नियोजनका जानकारीहरू परिवारसम्म सहज रूपमा पुग्ने विश्वास गाउँपालिकाले लिएको स्मृति पाण्डेले जनाउनु भएको छ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका स्वास्थ्य शाखा तथा करुणा फाउण्डेशन नेपालको सहकार्यमा सञ्चालन गरिएको यो पहलले कचनकवल गाउँपालिकालाई ‘अपाङ्गता रोकथाममुखी स्थानीय स्वास्थ्य प्रवर्द्धन’ को नमुना क्षेत्रका रूपमा अघि सार्ने अपेक्षा राखिएको छ। कार्यक्रम आयोजकहरूका अनुसार सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सीप, ज्ञान र सक्रियतामा आधारित यस अभियानले मातृ-शिशु स्वास्थ्य सुधारमा दीर्घकालीन प्रभाव पार्नेछ।




















