पथरिया, साउन २३ - जीवन विज्ञान जिल्ला परिषद् झापाको सहकार्यमा कचनकवल गाउँपालिका वडा नं. २ द्वारा आयोजित तीन दिवसीय ऊर्जा ध्यान शिविर आज एक भव्य उपस्थितिका साथ उद्घाटन गरिएको छ।
शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विशेष अतिथि सामाजिक अभियन्ता भागीरथा प्याकुरेल, वडा सदस्य धन बहादुर गुरुङ तथा वडा अध्यक्ष लेखनाथ खत्रीको गरिमामय उपस्थितिमा उपाध्यक्ष नवराज भट्टराईले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष भट्टराईले आत्मिक शुद्धि, मानसिक सन्तुलन र जीवनमा सकारात्मक ऊर्जा प्राप्तिका लागि यस्ता ध्यान शिविरहरूको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो। वहाँले जीवन विज्ञानको योगदानको प्रशंसा गर्दै यसले समुदायमा सद्भाव र सशक्तिकरणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, सामाजिक अभियन्ता भागीरथा प्याकुरेलले आफ्नो शुभकामना मन्तव्यमा ध्यान र योग अभ्यासले व्यक्तिगत जीवन मात्र नभई समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई ध्यान, चिन्तन र आत्म-विकासमा जोड दिन आग्रह गर्दै यस्तो शिविरले स्थानीय स्तरमा चेतनाको नयाँ उज्यालो फैलाउने बताउनुभयो।
शिविरमा श्रद्धेय भानु गुरुदेव र श्रद्धेय रमेश गुरुदेवको विशेष मार्गदर्शनमा ध्यान, ऊर्जा सञ्चार, आत्म-अनुशासन, तनाव नियन्त्रण र जीवन दर्शनका विषयमा प्रशिक्षण दिइनेछ।
कार्यक्रम श्रावण २३ देखि २५ गतेसम्म कचनकवल वडा कार्यालयको सभा हलमा सञ्चालन हुनेछ।




















