भोजपुरको रामप्रसाद राई गाउँपालिका-२, धोदलेखानीमा आइतबार राति भएको सामूहिक हत्या घटनामा एउटै परिवारका चार जनाको ज्यान गएको छ भने घटनामा संलग्न रहेको आशंकामा ३० वर्षीय राजेन्द्र राई घाइते अवस्थामा पक्राउ परेका छन्। प्रहरीका अनुसार घटनाको कारण प्रेम सम्बन्धको विवाद हो भन्ने प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरको कन्ट्रोल १०० मा राति करिब १२ बजे राईले आफैं फोन गरी जानकारी गराएका थिए। उनले भनेका थिए, “मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु।”

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीका अनुसार सूचना प्राप्त गर्नासाथ अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको थियो। घटनास्थल दुर्गम रहेकाले प्रहरी पुग्न करिब दुई घन्टा लागेको थियो।

प्रहरीका अनुसार घटनास्थलमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मन्जु गिरी, १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव रगताम्य अवस्थामा खाटमा फेला परेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त राई भने त्यहाँ उपस्थित थिएनन्। करिब ४-५ किलोमिटर टाढा वडा नम्बर १, हर्बुभञ्ज्याङमा उनी घाइते अवस्थामा फेला परेका हुन्। भोजपुर प्रहरीका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार अभियुक्तको पेटमा छुरा प्रहारको चोट थियो। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

अनुसन्धानका क्रममा खुलेको विवरण अनुसार अभियुक्त राई भोजपुर सदरमुकाममा पेन्टिङको काम गर्थे। त्यही क्रममा मृतक गिरीकी १६ वर्षीया छोरीसँग प्रेम सम्बन्धमा परेका थिए। परिवारको असहमतिकाबीच उनले किशोरीलाई भगाएर लगेर करिब नौ महिना सँगै बसेका थिए। केही दिनअघि किशोरीकी आमा छोरीलाई लिएर घर फर्किएपछि राई पुनः पत्नी लिन गिरीको घर पुगेका थिए। तर, परिवारले छोरी दिन नमानेपछि विवाद चर्किएको प्रहरीले जनाएको छ। शनिबार राति झगडा भएपछि उक्त घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। मृतक परिवारका नजिकका सदस्य तथा अभियुक्तसँग सम्बन्धित व्यक्तिहरूबाट पनि बयान लिने कार्य जारी रहेको छ। अभियुक्तले प्रारम्भिक बयानमा आफूमाथि परिवारका सदस्यहरूले आक्रमण गरेको र प्रतिकारमा घटना घटेको दाबी गरेका छन्।

भोजपुरमा घटेको यो सामूहिक हत्या घटना मुलुकका लागि गम्भीर सन्देश बोकेको छ। प्रेम सम्बन्धका कारण चर्किएको विवादले एक परिवारको चार सदस्यको ज्यान लिएको छ भने समुदायमा समेत शोकको छाया परेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीको अनुसन्धान जारी छ।