कचनकवल, जेठ २७ - कचनकवल गाउँपालिका द्वारा सञ्चालित लघु उद्यम कार्यक्रम अन्तर्गत सीप विकास कार्यक्रम झोला (ब्याग) बनाउने एडभान्स तालिम आज एक समापन समारोहका साथ सम्पन्न भएको छ। तालिम वार्ड नं. ७ बालुबाडीस्थित वडाकार्यालयमा जेठ १२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो।


समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै शिप र कलाको विकास गर्न तालिमहरू प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले पालिकाले विभिन्न तालिमहरू जस्तै ढाकी बनाउने, पेटानी, धक्रा बनाउने जस्ता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिँदै झोला बनाउने शिपमार्फत महिला दिदीबहिनीहरू अझ सक्षम र आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै पालिका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय सरकारले भौतिक मात्र नभई सामाजिक विकासमा पनि समान ध्यान दिइरहेको उल्लेख गर्नुभयो। महिला सशक्तिकरण र शिप विकासबिना समाजको समग्र प्रगति अधुरो हुने बताउँदै उहाँले सबैको सहयोगमा मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उक्त समापन कार्यक्रममा पालिका प्रशासन अधिकृत भुमि प्रसाद निरौलाको समेत उपस्थिति रहेको थियो।
तालिममा सहभागी महिलाहरूले एडभान्स स्तरको झोला बनाउने सीप सिकेर आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदम चालेका छन्। कार्यक्रमले समुदायमै आधारित आयआर्जनको अवसर सिर्जना गर्दै दीगो उद्यमशीलता विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।