कचनकवल - माझी समुदायका महिलाहरूलाई लक्षित गर्दै कचनकवल गाउँपालिकाले आयोजना गरेको “पंखा, ढाकी, फुलडाली तथा नाङ्लो बनाउने चार दिवसीय सीप विकास तालिम” सम्पन्न भएको छ।

तालिम समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहेका थिए। कार्यक्रममा तालिम संयोजक एवं सभाध्यक्ष नवराज भट्टराई, वडा नं. ४ का वडाध्यक्ष नुरजमा मियाँ तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित उक्त तालिम केचना सामुदायिक भवनमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन शाखा प्रमुख सुनिता दाहालले गर्नुभएको थियो।

प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले शुभकामना मन्तव्य राख्नुका साथै तालिममा सहभागी १६ महिलाहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँहरूले महिलाहरूको सीप अभिवृद्धि तथा आत्मनिर्भरता अभिमुखी कार्यक्रमहरूमा निरन्तर सहभागिता रहनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले माझी समुदायको परम्परागत कला र सीपलाई जातीय सीमाभित्र मात्र सीमित नराखी, व्यावसायिक उत्पादनको माध्यमबाट सम्पूर्ण समाजमा फैलाउने खालका गतिविधिहरूमा रूपान्तरण गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

स्थानीय सरकारको अग्रसरतामा सञ्चालित यस्ता तालिम कार्यक्रमहरू महिलाको सशक्तीकरण, घरेलु उत्पादनमा संलग्नता र आर्थिक उन्नतिमा सहायक हुने विश्वास गरिएको छ।

कचनकवल गाउँपालिकाले प्रत्येक वडाका विभिन्न समुदायका महिलाहरूलाई लक्षित गरी व्यावहारिक सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ।