झापा - कचनकवल गाउँपालिका-२ (पथरिया) औपचारिक रूपमा ‘पूर्ण खोप वडा’ को रूपमा घोषणा गरिएको छ। स्वास्थ्य चौकी डाँडागाउँमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तथा खोप समन्वय समिति अध्यक्ष लेखनाथ खत्रीको अध्यक्षतामा घोषणा गरिएको हो।

स्वास्थ्य चौकी ईञ्चार्ज कौशिला राजवँशीका अनुसार, वडाका सबै लक्षित बालबालिकाले निर्धारित खोप सेवा प्राप्त गरिसकेका छन्। उनका अनुसार, यो उपलब्धि हासिल गर्न समुदायको सक्रियता, स्वास्थ्यकर्मीहरूको निरन्तर सेवा र महिला स्वास्थ्य स्वयंसेविकाहरूको समर्पण प्रमुख कारक बनेका छन्।

कार्यक्रमका वक्ता तथा वडा सदस्य धन बहादुर गुरुङले खोप अभियानमा महिला स्वयंसेविकाहरूको योगदानलाई विशेष रूपमा उल्लेख गर्दै, समुदायस्तरमा उनीहरूको निरन्तर सक्रियता र जनचेतनामूलक कामको प्रशंसा गरे।

घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समापन मन्तव्यमा अध्यक्ष लेखनाथ खत्रीले सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।