बनियानी - कचनकवल गाउँपालिका–६ (बनियानी) लाई औपचारिक रूपमा पूर्ण खोप वडा सुनिश्चितता भएको घोषणा गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि तथा खोप समन्वय समिति अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भयो।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. दिपेन राजवंशीले खोप अभियान सफल बनाउन स्थानीय जनताको सक्रियता र स्वास्थ्यकर्मीहरूको योगदान अतुलनीय रहेको उल्लेख गरे। “पूर्ण खोप सुनिश्चिततामा पुग्नु हामी सबैको साझा सफलता हो,” उनले भने, “यसले हामीलाई अर्को खोप अभियानहरू सफल बनाउने आत्मबल दिएको छ।”
कार्यक्रममा मन्तव्य राख्दै अतिथि बबिता काफ्लेले खोप अभियानमा महिलाको भूमिकालाई विशेष रूपमा स्मरण गरिन्। “महिला स्वास्थ्य स्वयंसेविकाहरू बिना यो सफलता सम्भव थिएन,” उनले भनिन्।
स्वास्थ्यकर्मी पुजन शिवाकोटी, लाल बाबु मियाँ, स्वयंसेविका निर्मला पाण्डे र खोपकर्मी धनमाया ढकालले पनि आफ्नो धारणा राख्दै स्थानीय स्तरमा आएको सचेतनाले महत्वपूर्ण परिणाम दिएको जनाए।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई खादा लगाएर सम्मान गरिएको थियो। जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले कार्यक्रमको सञ्चालन गर्दै खोप अभियानको प्रक्रियागत विवरण प्रस्तुत गरे। उनले बताएअनुसार, पौष महिनादेखि सुरु गरिएको घरधुरी सर्वेक्षणपछि वैशाखमा खोप कार्यक्रम सम्पन्न भएको थियो, जसको आधारमा वडा नम्बर ६ लाई पूर्ण खोप वडा घोषित गरिएको हो।
समापनमा अध्यक्ष चिन्तामणि खरेलले सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।