पथरिया - कचनकवल गाउँपालिका वडा नम्बर ३ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी पथरियामा आयोजित विशेष कार्यक्रममा वडाध्यक्ष ग्यास अजमल मियाँको अध्यक्षता रहँदा प्रमुख अतिथिको रूपमा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव सहभागी थिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मियाँले भने, “खोप सुनिश्चितता हाम्रो वडाका हरेक बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यस अभियानलाई सफल बनाउन समर्पित सबै स्वयंसेविका, स्वास्थ्यकर्मी र अभिभावकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।”

त्यस्तै, स्वास्थ्य शाखा प्रमुख यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पूर्ण खोप सुनिश्चितता कुनै सामान्य उपलब्धि होइन। कचनकवल-३ ले यो कार्य सिद्ध गरेर सम्पूर्ण पालिकालाई उदाहरण प्रस्तुत गरेको छ। हामी आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै प्रयासलाई विस्तार गर्नेछौं।”

कार्यक्रममा पथरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका र अन्य स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वास्थ्यकर्मी घनश्याम यादवका अनुसार, वडामा लक्षित सबै बालबालिकाले निर्धारित सम्पूर्ण खोप प्राप्त गरिसकेका छन्।

यो घोषणा कचनकवल गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।