कचनकवल । कचनकवल गाउँपालिका-२ स्थित बगान बजार (पुरानो बजार) को चौतर्फी मोडमा सवारी दुर्घटनाको जोखिम दिन प्रतिदिन बढ्दै गएपछि पालिकाले त्यसको न्यूनीकरणका लागि पहल थालेको छ। सडक मोडसँगै रहेको पोखरी क्षेत्रको उपयोग गर्दै बाटोलाई फराकिलो बनाउने कार्य प्रारम्भ भइसकेको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिनुभयो।


सडक सुधारका लागि सम्भाव्यता अध्ययन र स्थलगत निरीक्षणपछि उक्त पोखरी क्षेत्र प्रयोग गर्ने प्रस्ताव चिया बगान सञ्चालक सुरेश अग्रवाल समक्ष राखिएको थियो। अग्रवालले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सकारात्मक सहयोग जनाएका छन्।
गाउँपालिकाको पहलमा र बगान प्रशासनको सहकार्यमा अहिले सो मोडमा बाटो फराकिलो पार्ने काम सुरु भइसकेको छ, जसले सवारी चालक र स्थानीयवासीलाई सुरक्षित र सहज आवागमनमा उल्लेखनीय राहत दिने अपेक्षा गरिएको छ।
अध्यक्ष राजबंशीले यस्तो जनहितकारी कार्यमा अमूल्य सहयोग गरेकोमा चिया बगान सञ्चालक सुरेश अग्रवालप्रति कचनकवल गाउँपालिका परिवारको तर्फबाट धन्यवाद एवं उच्च सम्मान प्रकट गरेका छन्।
स्थानीय समस्यालाई साझेदारी र समन्वयको माध्यमबाट समाधानतर्फ लैजाने यो प्रयास अन्य क्षेत्रमा पनि उदाहरणीय बन्ने विश्वास लिइएको छ।