बनियानी । झापा जिल्लाको सुदूर दक्षिण–पूर्वमा अवस्थित कचनकवल गाउँपालिका लागू औषधको समस्या झेलिरहेको संवेदनशील क्षेत्रका रूपमा चिनिँदै आएको छ। नेपालकै सबैभन्दा होचो स्थान मानिने यो पालिका पूर्व, दक्षिण र पश्चिम तीनै दिशाबाट भारतसँग खुला सीमाबाट घेरिएको छ। यद्यपि यस्तो भौगोलिक अवस्थाले सीमा पारका भारतीय भूभागसँग भाषा, संस्कृति र इतिहासको साझेदारी गर्न सहजता दिएको भए पनि, पछिल्लो समय लागू पदार्थ ओसारपसार र प्रयोगका लागि यो खुला सिमाना खतराको माध्यम बन्दै गएको छ।


युवा पुस्ता दिनप्रतिदिन लागू औषधको दलदलमा फस्दै जानु कचनकवलको मात्र नभई समग्र समाजको लागि ठूलो चिन्ताको विषय बनेको छ। यही समस्या समाधान गर्न गाउँपालिकाभर लागू औषध दुर्व्यसन विरुद्ध आमाहरूको अभियान सुरु गरिएको छ।
यसै सन्दर्भमा सोमबार कचनकवल–५ स्थित सिङ्घीमारीका आमाहरूले अभियानमा सक्रिय सहभागिता जनाएका छन्। उनीहरूले लागू औषध विरुद्धको लडाइँलाई सामाजिक उत्तरदायित्वको रूपमा लिँदै सक्रिय सहभागिता जनाउनु अभियानको सशक्त संकेत मानिएको छ।
अभियानको दोस्रो चरण अन्तर्गत भोलि बुधवार बिहान ११ बजे कचनकवल–६, वनियानीको डुबडुवीमा रहेको शिव आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा अभियान संयोजक नवराज भट्टराई प्रमुख अतिथि रहने छन् भने उमेश मिश्रले कार्यक्रम सञ्चालन गर्नेछन्।
सामाजिक सङ्कटको रूपमा फैलिँदै गएको लागू औषध दुर्व्यसनका विरुद्ध स्थानीय तहबाट उठेको यो अभियान सराहनीय मात्र नभई अनुकरणीय पनि बन्ने अपेक्षा गरिएको छ। यस अभियानमा सबै वडाका नागरिक ,अभिभावक र सरोकारवालाहरूले सक्रिय सहभागिता जनाई भावी पुस्तालाई सुरक्षित राख्न सबैले गम्भीरता पूर्वक लिनु समयको आवश्यकता हो।
गाउँपालिका भित्र सञ्चालनहुने सम्पूर्णमा कार्यक्रममा सहभागी भइ अभियान सफल पार्न हार्दिक अनुरोध गरिएको छ।