काठमाडौँ - सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै स्वीकृत गरेको आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ जारी गरिएको छ। सो मापदण्डले नेपालभरका आधारभूत अस्पतालहरूलाई स्वास्थ्य प्रवर्धनात्मक अस्पतालको रूपमा विकास गर्ने स्पष्ट नीति अघि सारेको छ।


मापदण्डको दफा ३ को उपदफा २ मा आधारभूत अस्पतालहरूलाई उपचार सेवासँगै समुदायमा स्वास्थ्य शिक्षा र रोग निवारणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको छ। तथापि, स्वास्थ्य प्रवर्धनका लागि आवश्यक पर्ने जनशक्ति, संरचना तथा स्रोत साधनको स्पष्ट व्यवस्था मापदण्डमा देखिएको छैन।
विशेषगरी स्वास्थ्य प्रवर्धन विशेषज्ञ, जनस्वास्थ्य अधिकृत तथा समन्वयकर्ता जस्ता पदहरूको समावेश नभएकोप्रति विज्ञ तथा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यो मापदण्डको कार्यान्वयन व्यवहारिक कठिनाइमा पर्ने सम्भावना रहन्छ।
जनस्वास्थ्य विश्लेषकहरूको भनाइमा, "नीति र उद्देश्य सराहनीय छन्, तर त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र जनशक्ति सुनिश्चित नगर्दा मापदण्ड केवल कागजी दस्तावेजमै सीमित हुनसक्छ।"
यस मापदण्डले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा सेवा गुणस्तर अभिवृद्धि गर्न सक्ने आधार निर्माण गर्न सक्ने भए तापनि व्यवहारिक पक्षमा सुधार आवश्यक देखिएको छ।