झापा, कचनकवल - झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ मा आज १२० घरपरिवारलाई लागत साझेदारीमा विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ। ‘नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना’ अन्तर्गत GIZ/Endev, Practical Action Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको सहकार्यमा यो वितरण गरिएको हो।


बजार मूल्य ३,७७० रुपैयाँ पर्ने चुलो १७०० रुपैयाँमा नागरिकलाई उपलब्ध गराइएको हो। बाँकी लागत वडाले परियोजनासँग साझेदारीमा व्यहोरेको हो। कार्यक्रम वडा अध्यक्ष लेखनाथ खत्रीको समन्वयमा सम्पन्न भएको थियो।
वडाले नागरिकको दैनिक जीवन सहज बनाउने खालको काममा प्राथमिकता दिँदै आएको छ। यस प्रकारको लागत साझेदारीमा चुलो वितरणले वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै खानेपानी र स्वास्थ्यमाथि पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
उपलब्ध तथ्यांकअनुसार वडामा पहिलोपटक यसरी ठूलो संख्यामा इन्डक्सन चुलो वितरण गरिएको हो। जनताबाट निर्वाचित जनप्रतिनिधि भएर नागरिकको जीवनस्तर उकास्न लागिपरेका वडाध्यक्ष खत्रीको यो कदम जनमुखी र प्रशंसायोग्य ठहरिएको छ।
स्थानीयवासीहरुले पनि दैनिक प्रयोगका लागि अत्यावश्यक यस्ता सामग्री सहज मूल्यमा उपलब्ध गराइदिएकोमा वडालाई धन्यवाद व्यक्त गरेका छन्।