झापा, चैत्र २५ – कचनकवल गाउँपालिका वडा नं. ७ स्थित ताराबानामा सोमबारका दिन खोप केन्द्र भवनको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पालिकाबाट विनियोजित बजेटमा निर्माण हुन लागेको यस खोप केन्द्रको शिलान्यास वडा अध्यक्ष श्री भारत राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

खोप केन्द्र भवन निर्माणका लागि आवश्यक जग्गा ताराबाना निवासी स्वर्गीय ठाकुर सिंह राजबंशीकी धर्मपत्नी बृदा राजबंशीले आफ्ना दिवंगत श्रीमानको सम्झनामा निःशुल्क रूपमा प्रदान गरेकी हुन्। समाजसेवा प्रति समर्पित ठाकुर सिंह राजबंशीको सम्झनामा प्रदान गरिएको यो जग्गा अब जनस्वास्थ्य सेवाको स्थायी संरचना निर्माणमा उपयोग हुनेछ, जसले भविष्यमा सयौं नागरिकलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बृदा राजबंशी, स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला समूहका प्रतिनिधि तथा स्थानवासीहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले स्व. ठाकुर सिंह राजबंशीको समाजप्रतिको योगदान र बृदा राजबंशीको परोपकारी भावना प्रति सम्मान व्यक्त गर्दै यस्ता कार्यहरूले आगामी पुस्तालाई पनि प्रेरणा दिने बताए।

उक्त खोप केन्द्र भवन निर्माणपछि स्थानीय बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक लगायत सबै नागरिकले खोप तथा मातृ–शिशु सम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा पाउने छन्। यसले जनस्वास्थ्य सेवा पहुँच मात्र होइन, गुणस्तरमा समेत महत्वपूर्ण सुधार ल्याउने विश्वास गरिएको छ।