बनियानी, झापा - कचनकवल गाउँपालिका-६ स्थित बनियानी क्षेत्रमा बौलाहा कुकुरको आक्रमणले जनजीवन त्रसित बनेको छ। पछिल्ला दुई दिनमा मात्र बनियानीका ९ पुरुष र ३ महिला गरि जम्मा १२ जना स्थानीयवासी घाइते भएका छन् भने गाई-बाख्राजस्ता चौपायाहरू पनि आक्रमणको सिकार बनेका छन्।


भुस्याहा, कालो रङको उक्त कुकुरले हिजो र आज क्रमशः मानिस र पशुहरूलाई आक्रमण गर्दै आएको पुष्टि भएको छ। आजै कचनकवल गाउँपालिका अध्यक्षले आकस्मिक बैठक डाकी घाइतेहरूको उपचारको व्यवस्था गर्दै बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेविजविरुद्धको खोप लगाउने कार्य अगाडि बढाएको छ। यद्यपि, कुकुरलाई नियन्त्रणमा लिन गाउँ प्रहरी, पशु शाखा तथा स्थानीय युवाको सहयोगमा खोज तथा नियन्त्रण प्रयास चलिरहे पनि हालसम्म सफलता मिल्न सकेको छैन।
यो घटनाले पुनः एकपटक प्रश्न उठाएको छ- के हामीले वेवारिसे तथा बौलाहा कुकुर नियन्त्रणको दीर्घकालीन समाधानबारे कहिल्यै गम्भीर सोच बनाएका छौं ?
बौलाहा कुकुरको आक्रमण बालबालिकादेखि वृद्धवृद्धा, सबै उमेर समूहका लागि खतरनाक सावित भइरहेको छ। कुकुरको आतंकका कारण अभिभावकहरू बालबालिकालाई घरबाहिर जान दिन डराइरहेका छन् भने पशुपालकहरू आफ्नो पशुधनको सुरक्षामा चिन्तित छन्। यसले देखाउँछ- जनस्वास्थ्य मात्र होइन, ग्रामीण अर्थतन्त्रमा समेत असर पर्ने खतरा छ।
गाउँपालिका र अन्य स्थानीय निकायहरू तत्कालीन उपचार र नियन्त्रणको प्रयासमा सक्रिय देखिए पनि यस्ता घटना दोहोरिरहँदा त्यसको मूल कारणमा केन्द्रित नीति निर्माण र कार्यान्वयन जरुरी भएको छ। कुकुरको नसबन्दी, खोप, शेल्टर व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम आजको आवश्यकता हो।
हाम्रो नगर र गाउँहरूमा बढ्दो भुस्याहा कुकुरको संख्या केवल उपेक्षा र अल्पदृष्टिको परिणाम हो। यदि आज पनि सजग र योजना बनाइएन भने, भोलिका दिनहरूमा अझ गम्भीर खतरा उत्पन्न हुन सक्छ।
बौलाहा कुकुर नियन्त्रण त तत्कालीन कदम हो, तर दीर्घकालीन समाधान भनेको जिम्मेवार नीति, नियन्त्रण कार्यक्रम र सबै पक्षको समन्वय हो। अब त्यसतर्फ ध्यान दिनुको विकल्प छैन।