कचनकवल। आर्थिक अभावका कारण कचनकवल गाउँपालिका-६ (सिङ्गीमारी)का ४५ वर्षीय मोती राजवँशीको उपचारमा समस्या भएको छ । मृगौला रोगबाट पीडित राजवँशीको आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको हो ।

तीन वर्षअघि मृगौलामा समस्या भेटिएपछि हाल चिकित्सकले वीर अस्पतालमा उपचार गरिरहेपनि आर्थिक अभावले समस्या परेको छ । बिरामीको रोग पत्ता लगाउन भौँतारिदा र उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको सम्पत्ति बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उहाँको आफन्त करण राजवँशीको भनाइ छ । अहिले सम्पत्तिका नाममा सानो कच्ची घर रहेको उहाँले दुखेसो पोख्नुभयो ।

राजवँशीलाई वीर अस्पताल काठमाडौमा भर्ना गरिएपनि थप उपचारका लागि पैसा नभएपछि उहाँ बेडमा थलिनुभएको हो। राजवँशीको थप आवश्यक सहयोगका लागि समन्वय भईरहेको र सहयोग सङ्कलनका लागि सहयोगी दाताहरुमा करण राजवँशीले बिरामीको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

सहयोगका लागि बिरामीको श्रीमती मीना राजवँशीको एक्सल बैंक बनियानी शाखामा रहेको खाता नम्बर ०२७१०३००११३७४००००००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । बिरामीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले मोवाईल नम्बर ९८१३१११७७१७ / ९८१५९२५६५५ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् ।