कचनकवल । कचनकवल गाउँपालिकाले उपभोक्ता समिति मार्फत करिब ७ लाखको लगानीमा प्रशासनिक भवनसँग जोडिने गरि शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालयको सेफ्टी ट्याङ्की भने नजिकै रहेको योजना तथा पुर्वाधार शाखाको भवनमा जोडिएको छ ।
करिब ४२९१२ जनसँख्या भएको कचनकवल गाउँपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैनन् । जबकि विश्व स्वास्थ्य सङ्गठन, डब्लुएचओका अनुसार प्रत्येक ५ सय जनाका लागि एउटा सार्वजनिक शौचालय आवश्यक हुन्छ । तर, कचनकवल गाउँपालिकामा भने ४२ हजारभन्दा बढी मानिसका लागि एउटा सार्वजनिक शौचालय बन्दैछ ।
कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र प्रसाद सिह राजवँशी निर्वाचित भए लगत्तै मुख्य राजधानी मानिने बनियानीमा आधुनिक सार्वजनिक शौचालय बनाउनतर्फ ध्यान दिएपनि सञ्चालनमा भने आएको छैन। सार्वजनिक शौचालय नहुँदा हजारौँ सर्वसाधारणले दैनिक रूपमा सास्ती खेप्नु परेको छ ।
कचनकवलको प्रशासनिक राजधानी बनियानीमा आपत् परेको खण्डमा सार्वजनिक शौचालय भेट्टाउनै मुस्किल छ । गाउँपालिकाले सार्वजनिक शौचालय निर्माणमा इच्छाशक्ति नदेखाउँदा कचनकवलबासी मात्रै नभई यहाँ आउजाउ गर्ने जो कोहीले पनि समस्या भोग्नु परेको छ ।
कचनकवल गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालयबाट नागरिकको काम कार्वाही सञ्चालनका लागि ३ वटा प्रशासनिक भवन भए पनि कर्मचारीका लागि भने एउटामात्र शौचालय छ।
गाउँपालिकाले पालिकालाई कर्मचारीमैत्री महिला र पुरुषका लागि अलगअलग शौचालय बनाउन मुख्य ध्यान पुर्याउन जरुरी छ ।खुला दिसा मुक्त घोषणा भएको गाउँपालिकाले विश्व शौचालय दिवस मनाइरहँदा यहाँ रहेको शौचालयको पूर्वाधारले भने पालिकालाई नै गिज्याइरहेको छ ।