झापा। कचनकवलमा अज्ञात समूहले धान खेतमा आगजनी गर्दा किसानको वर्षौँको मेहनत खेर गएको छ।
कचनकवल गाउँपालिका-४ बयरवारीका अलवास मियाँको धानमा अज्ञात समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको हो।
मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए। दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा अज्ञात समूहले आगजनी गरेपछि दुई बिगाहाको धान र पराल खरानी भएको पीडितले जानकारी दिए।
धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ। लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले सुनाए।
आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए। कसैले धानको बोझा जम्मा पारी राखिएको ठाउँमा पेट्रोल छर्केर योजनाबद्ध किसिमले आगजनी गरेको पीडितको दाबी छ।
यसभन्दा पहिले पनि कचनकवलमा बारम्बार धानको पराल र कुन्युका बोझामा आगो लाग्ने घटना भइरहेपनि कसैलाई कारबाही हुने गरेको छैन।
पछिल्ला घटनाक्रम हेर्दा कचनकवलमा अन्न बालीमा आगो लगाउने समूह नै सक्रिय भएको देखिन्छ।तर प्रहरीले अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।
इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।