बनियानी । विद्यालय केवल पाठ्यपुस्तकको ज्ञान दिने थलो मात्र होइन, स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने आधारभूमि पनि हो। यही उद्देश्यलाई आत्मसात् गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय झापाले कचनकवल गाउँपालिका-६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा ‘नागरिक आरोग्य अभियान’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आयुर्वेद चिकित्सक डा. विनय श्रेष्ठ र अस्मिता गिरी ले विद्यार्थी तथा शिक्षकहरूलाई स्वस्थ जीवनशैली, आयुर्वेदिक स्वास्थ्य पद्धति, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा दैनिक जीवनमा स्वास्थ्य सचेतनाको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले स्वास्थ्यप्रति सकारात्मक सोच र व्यवहार विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रमलाई उपयोगी र ज्ञानवर्द्धक रहेको बताएका थिए।

यसै अवसरमा कचनकवल गाउँपालिका स्वास्थ्य शाखाले पनि सोही विद्यालयका विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा मानसिक तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, आत्मविश्वास विकास तथा किशोरावस्थामा देखिन सक्ने मानसिक चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत ले गर्नुभएको थियो। उहाँले विद्यालयमा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो,

“शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक पक्ष हुन्। शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सन्तुलित विद्यार्थीले मात्र गुणस्तरीय शिक्षा हासिल गर्न सक्छन्। विद्यालयमा सञ्चालन हुने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ जीवनशैली, सकारात्मक सोच र जिम्मेवार नागरिकताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सम्बन्धित निकायप्रति धन्यवाद ज्ञापन गरेको छ। नागरिक आरोग्य अभियान तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रमले विद्यालय समुदायमा स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणको आधार थप मजबुत बनाएको सहभागीहरूको धारणा रहेको थियो।