झापा । कचनकवल गाउँपालिका-६ (बनियानी) स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको बाल क्लबले २०८२ साल पौष १ गतेबाट मासिक भित्ते पत्रिका ‘लक्ष्मी बाल आवाज’ को विधिवत् प्रकाशन प्रारम्भ गरेको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा भित्ते पत्रिकाको विमोचन विद्यालयका प्रधानाध्यापक सुकदेव पोख्रेलले गर्नुभएको हो।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, विचार अभिव्यक्ति र बौद्धिक चेतनालाई उजागर गर्ने उद्देश्यले प्रकाशन सुरु गरिएको यस भित्ते पत्रिकाको सम्पादन तथा प्रकाशन मण्डलमा हिना गणेश, स्मृति सिटौला, दीक्षत्रा कुमारी राजवँशी, फडिन्द्र कँडेल, बविता राजवँशी, पुष्पा काफ्ले र कृति सिटौला रहनुभएको छ। बालबालिकाहरू स्वयंले सामग्री संकलन, सम्पादन र प्रस्तुतिको जिम्मेवारी सम्हालेका छन्, जसले उनीहरूमा नेतृत्व, सहकार्य र जिम्मेवारीबोधको विकास गराउने विश्वास गरिएको छ।
विमोचन कार्यक्रममा प्रधानाध्यापक पोख्रेलले भित्ते पत्रिका जस्तो अभ्यासले विद्यार्थीको लेखन सीप, आलोचनात्मक सोच र आत्मविश्वास अभिवृद्धि हुने उल्लेख गर्नुभयो। “पाठ्यपुस्तकमा सीमित शिक्षालाई जीवनोपयोगी बनाउने यस्ता सिर्जनात्मक पहलहरूले शैक्षिक प्रगति मात्र होइन, व्यक्तित्व विकासमा समेत ठोस योगदान पुर्याउँछन्,” उहाँले भन्नुभयो।
विद्यालय प्रशासन र शिक्षकहरूको मार्गदर्शनमा नियमित प्रकाशनको लक्ष्य लिएको ‘लक्ष्मी बाल आवाज’ ले विद्यार्थीका विचार, कविता, समाचार, चित्र र शैक्षिक सामग्रीलाई साझा मञ्च प्रदान गर्नेछ। यसले विद्यालयभित्र स्वस्थ बौद्धिक बहसको संस्कार विकास गर्नुका साथै बालबालिकालाई सचेत, जिम्मेवार र अभिव्यक्तिशील नागरिक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।




















