झापा, वैशाख ५ – झापा जिल्लाको कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकबाट लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान करीब १०:४५ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट प्रनानि रोहित बहादुर मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा वडा नम्बर ५ बस्ने इलियास मियाका छोरा २८ वर्षीय कासिम मियालाई पक्राउ गरेको हो।

कासिम मिया BR37 AE 6451 नम्बरको मोटरसाइकलमा केचनाबाट बनियानीतर्फ आउँदै गर्दा प्रहरी टोलीले उनलाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको टुलबक्समा राखिएको कालो प्लास्टिक भित्र ब्राउन सुगर जस्तो देखिने ५.१९० ग्राम लिसिलो पदार्थ (प्लास्टिक बाहेक ५.०० ग्राम) फेला परेको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट नगद ७,००० रुपैयाँ समेत बरामद गरिएको छ।

पक्राउ परेका मियालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ गरिएको स्थान इप्रका बनियानीबाट करिब ८०० मिटर पश्चिमतर्फ पर्छ।